नेयमार नभएको बेला ब्राजिलले ७ गोल हान्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेयमार नभएको बेला ब्राजिलले ७ गोल हान्यो



एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो ।

चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको खेलमा नेयमारले दायाँ खुट्टाको एंकलमा चोट बोक्दै घाइते हुन पुगेका थिए । उनी करिव ४ साता मैदान बाहिर रहने भएका छन् ।

ब्राजिलको शानदार र फराकिलो जितमा गाब्रियल जेससले २ गोल गरे । थियागो सिल्भा, फिलिपे कौटिन्हो, डेभिड नेरेस, रोबर्टाे फिर्मिनो र रिचालीसनले गोल गरे ।

सुरुवातदेखि नै आक्रमक खेल खेलेको ब्राजिलले खेलको छैटौं मिनेटमा जेससको गोलबाट अग्रता बनाएको थियो । १३औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा समेटियो । रोमेल कुइओटो रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । जसको फाइदा ब्राजिले उठायो । ३७औ मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

४७औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल खेलमा ४–० को अग्रता लियो । ५६औं मिनेटमा डेभिड नेरेसले गोल गरे । ६५औं मिनेटमा रोवर्टाे फिर्मिनोले गोल गरेपछि ब्राजिल खेलमा ६–० ले अघि बढ्यो । ७०औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ७–० को फराकिलो जित दिलाए ।

ब्राजिल घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा छ । ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । ब्राजिलले १५ जुनमा बोलिभियासँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्दैछ । होन्डुरस कोन्काकाफ गोल्डकपको तयारीमा छ ।