नेयमारबिना पनि दरिलो ब्राजिल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेयमारबिना पनि दरिलो ब्राजिल



एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले पहिलो खेलमा बोलिभियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । यसैक्रममा टोलीका कप्तान ड्यानी आल्भेसले नेयमार नहुँदा पनि ब्राजिल कमजोर नरहेको बताएका छन् ।

स्टार फरवार्ड नेयमारले चोटका कारण प्रतियोगिता गुमाएपछि ब्राजिललाई केहि कठिन हुने अनुमान गरिएको थियो । तर ब्राजिलले पहिलो खेलमा सहज जित दर्ता गर्दै नेयमार नहुँदापनि टोली बलियो रहेको पुष्टि गरेको छ । ब्राजिलको जितमा फिलिपे कोउटिन्होले २ तथा एभरटनले १ गोल गरेका थिए । नेयमार नहुँदा सुरुवाती ११ मा परेका डेविड नेरेसको स्थानमा आएका एभरटनले उत्कृष्ट गोल गरेका थिए ।

फ्रान्सेली क्लब पीएसजीबाट नेयमारसँगै खेल्दै आएका ब्राजिलका कप्तान आल्भेसले उनको अनुपस्थितिले ब्राजिल कमजोर नरहेको बताए । ‘ हामीले प्रत्यक पटक राष्ट्रिय टोलीको जर्सी लगाउँदा आफूलाई प्रमाणित गर्नुपर्छ, चाहे कोहि खेलाडी हुन् या नहुन् । हामीलाई विश्वभरका दर्शकले हेरिरहेका हुन्छन् र हामी ऐतिहासिक टोलीको प्रतिनिधित्व गरिरहेका छौं,’ उनले थपे, ‘तर जब टोलीमा नेयमारजस्ता खेलाडी हुन्छन्, हामी केहि बलियो हुन्छौं । यसको मतलब हामी उनीबिना कमजोर छौं भन्ने होइन । हाम्रो जिम्म्वेई त्यहि रहन्छ र आफ्नो इतिहासका लागि सदैव डटेर लड्न तत्पर हुनुपर्छ । ‘

आल्भेसले ब्राजिलका लागि हालसम्म १ सय १० खेल खेलेका छन् । उनीभन्दा बढी खेल खेल्नेमा पूर्वकप्तान काफु (१४२) र रोबर्टो कार्लोस (१२५) रहेका छन् । आल्भेसले आफ्नो नजर विश्वकप २०२२ सम्म खेल्नु रहेको स्पष्ट पारेका छन् । ‘मेरो लक्ष्य सन् २०२२ को विश्वकप खेल्नु हो । मैले अहिले नै भविष्यबारे मात्र सोच्ने अवस्था छैन, त्यसो हुँदा वर्तमानमा कम ध्यान पुग्न सक्छ । मैले अहिले जे छ त्यसमा ध्यान दिएर अगाडी बढ्ने सोच राखेको छु,’ उनले थपे ।

ब्राजिलले समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा बुधबार भेनेजुएलाको सामना गर्दैछ । खेल नेपाली समयानुसार ६:१५ बजे सुरु हुनेछ । ब्राजिल ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने पेरु र भेनेजुएलाको १-१ अंक छ । अंकविहिन बोलिभिया पुछारमा रहेको छ ।