ग्यासपारले किन भने 'नेइमार बन्न सजिलो छैन' ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ग्यासपारले किन भने ‘नेइमार बन्न सजिलो छैन’ ?



नेइमारले रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलबाटै ब्राजिल बाहिरिनु आफ्नो खेल जीवनको सबैभन्दा नरमाइलो अनुभव र समय रहेको बताएका छन् ।

नेइमार रुसमा विश्वका एक यस्ता खेलाडीले जसले खेलमा आफ्नै बलमा प्रभाव पार्न सक्छन् र टिमलाई अघि लैजान सक्छन् भन्ने आश गरिएको थियो । उनको टिम ब्राजिललाई उपाधि दाबेदारको सूचिमा सबैभन्दा अघि राखिएको थियो ।

तर उनले रुस विश्वकपमा आफ्नै उच्च लय समात्न सकेनन् भने ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । यस्तै उनी मैदानमा सामान्य ट्याकल हुँदा पनि धेरै लडेको भन्दै आलोचना भयो ।

गएको शुक्रबार राति कजानमा भएको खेलमा बेल्जियमसँग २–१ ले पराजित भएपछि छैटौँ पटक विश्वकपको उपाधि उचाल्ने ब्राजिलको सपना टुट्यो । त्यो हार र विश्वकपबाट बाहिरिएपछिको पीडा नेइमारले इन्स्टाग्राममार्फत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यो समय मेरो खेल जीवनको सबैभन्दा निराशाले भरिएको क्षण हो । यो निकै पीडादायी छ । किनकी हामी अघि जान सक्छौँ भन्ने थाहा थियो र त्यसका लागि अवस्थाहरु प्नि थिए । इतिहास बनाउने मौका थियो ।’

उनले अघि लेखेका छन्, ‘तर यसपटकलाई होइन रहेछ । फेरि खेल्ने शक्ति जुटाउन कठिन छ, तर विश्वास छ कि भगवानले मलाई त्यो शक्ति दिनेछन् कि म जस्तो कुरा पनि सामना गर्न सकुँ । म भगवान बारे सोच्न कहिले छोड्दिन, हार पनि … किनकी मलाई थाहा छ तिम्रो बाटो मेरो भन्दा धेरै राम्रो छ ।’

रुस विश्वकपमा दुई गोल गरेका र अरु गोलका लागि सहयोग गरेका नेइमारले लेखेका छन्, ‘ब्राजिलियन टिमको सदस्य हुन पाउँदा खुशी छु । सबैप्रति मलाई गर्व छ, हाम्रो सपनामा बाधा आयो तर उनीहरुले जित्ने हाम्रो सपना मार्न सक्दैनन् । यो हाम्रो दिमागमा छ र हाम्रो मुटुमा छ ।’

इन्स्टाग्राम स्टोरिजमा नेइमारले गरेको पोस्टमा भनिएको छ, ‘म ती सबैप्रति आभारी छु जसले हामीलाई सन्देश पठाए र हाम्रो साथ दिए ।’

ब्राजिलको राष्ट्रिय टिमका संयोजक एडु ग्यासपारले नेइमारप्रति सद्भाव देखाएका थिए ।

‘मैले जहिले भन्ने गरेको छ, जहिलेदेखि नेइमारसँग मेरो सम्बन्ध सुरु भयो–नेइमार हुन त्यति सजिलो छैन’ ग्यासपरले भने, ‘नेइमार हुन कठिन छ । उनी त्यो केटा हुन्… माफ गर्नुहोला केटा होइन । नेइमार ती खेलाडी हुन्, जो अब अपरिपक्क युवा रहेनन्, उनले विश्वकप अघि बाँचेको समयले उनलाई धेरै बलियो बनायो ।’

उनले अघि भनेका छन्, ‘मानिसहरुले नेइमार विश्वकप अघि कति समय चोटका कारण मैदान बाहिर बसे भन्ने बिर्सिए । उनले यो विश्वकपमा के गरे भन्ने पनि भुले । पूर्ण रुपले स्वस्थ भएर विश्वकप खेल्नु पर्ने समयमा उनी तीन महिना मैदान बाहिर रहन बाध्य भए । उनले मात्रै तीन हप्ता प्रशिक्षण क्याम्पमा बिताए ।’

नेइमारले विश्वकपमा गरेको गतिविधिको आलोचना र प्रशंसा दुवै भइरहेको छ । यसबारेमा ग्यासपरले भने, ‘यदी उनी हाँसे भने, आलोचना हुन्छ र प्रशंसा । उदी रोए भने पनि त्यस्तै । यदी उनले मिडियासँग कुरा गरेनन् भने पनि अवस्था उस्तै हुन्छ । यसैले गर्दा नेइमार हुन सजिलो छैन ।’

ग्यासपरले भनेका छन्, ‘नेइमार त्यस्ता खेलाडी हुन् जसले हामीसँग निकै थोरै मागे । नेइमारले हाम्रा सबै नियममा आपत्ति जनाए, नेइमारले खबरमा आए जस्तो हामीसँग केही मागेका छैनन् । उनका बुवा फरक होटलमा बसे । उनी साथी खेलाडी भन्दा फरक होटलमा होइन साथीहरुसँगै बसे । कहिले काहिँ कुराहरु निकै संक्रिण भएर बाहिर आउँछन्, जसले यो युवा (नेइमार) प्रभावित हुन्छ, दुःखी हुन्छ । जुन सजिलो हुँदैन ।’