नेवारी र हिन्दीमा दीपक बज्राचार्यको 'मनमगन'(भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

नेवारी र हिन्दीमा दीपक बज्राचार्यको ‘मनमगन'(भिडियो सहित)



काठमाडौं:केही समय पहिला सार्वजनिक लोकप्रिय पप गायक दीपक बज्राचार्यको ”मनमगन” गीतले पछिल्लो समय धेरै राम्रो चर्चा पार्‍यो । ”मनमगन” सफलता पश्चात् गायक बज्राचार्यको सोही गीतलाई अब विभिन्न भाषामा पनि सुन्न र हेर सकिने भएको छ । केहिदिन अघि मात्र ”मनमगन” नेपालभाषामा पनि सार्वजनिक गरिएको छ भने चाँडै नै हिन्दी र अन्य भाषामा समेत रिलिज गर्ने उनको तयारी छ ।

गायक बज्राचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्युजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । यसकालागि लाग्ने सबै खर्च डिजिट्युनले नै व्यहोर्नेछ । यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रबर्द्धन तथा प्रचारप्रसारका लागि करोडौँको लगानी गर्नु नेपाली सङ्गीतकर्मी तथा सङ्गीत प्रेमीहरूका लागि खुसीको कुरा हो । नेपाली मौलिकता बोकेको गीत भारतीय सञ्चार माध्यमहरूबाट प्रचार प्रसारण हुनु नेपाली सङ्गीत क्षेत्रकै गौरवको विषय भएको सरोकारवालाहरूले बताए ।

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौँ ,संसारलाई नेपाली सङ्गीतमा नचाऔँ भन्दै गायक बज्राचार्यले नेपाली बाजाहरूको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् ।
८ वर्ष अघि पनि उनले क्रिम अफ रीदम अभियान अन्तर्गत मौलिक बाजाहरूको समिश्रण गरी काली काली, ओ अमिर, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरू समावेश गरी ‘मेड्ली’ रिलिज गरेका थिए जसलाई अङ्ग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रिम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरूको प्रयोग गरी फ्यूजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसारलाई नचाउने अभियानलाई अघि बढाउँदै आएको छ । ”मन मगन”लाई विश्वव्यापी बनाउन तीनमहिनासम्म युरोप, अमेरिका, अस्ट्रेलिया, कोरियामा लगायतका देशमा साङ्गीतिक कार्यक्रम गर्न लागेका पप गायक बज्राचार्य अहिले युरोपको साङ्गीतिक टुरमा छन् ।