नेतृत्वको रक्षा र विकासका लागि प्रचण्डलाई नि:शर्त काँध थाप्छौं :अनन्त
काठमाडौं, चैत्र ११ । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेतृत्वविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौति र घेराबन्दी आउन सक्ने बताउनुभएको छ ।
रोल्पा काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अनन्तले नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निशर्त काँध थाप्ने बताउनुभयो ।
पार्टी भित्रबाहिर र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु पार्टी नेतृत्व विरुद्ध लाग्न सक्ने औंल्याउँदै उहाँले अबको नयाँ समाजवादी क्रान्तिको यात्रामा पनि रोल्पाले विगतमा जस्तै योगदान र बलिदान गर्न तयार रहेको बताउनुभयो । फेरिएको समयमा रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
सभामुखसहित जनप्रतिनिधिहरुलाई सम्मान
यसैबीच प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले स्वागत तथा सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मञ्चले सभामुख महरालगायत रोल्पा र रोल्पामा जन्मिएर अन्य जिल्लाबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा रोल्पाबाट र रोल्पामा जन्मिई अन्य जिल्लाबाट निर्वाचित १० जना जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टीका, खादा र सम्मानपत्रसहित बधाई दिनुभएको थियो ।
कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सदस्यहरु ओनसरी घर्ती, जयपुरी घर्ती, राष्ट्रिय सभा सदस्य राजबहादुर कँवर, प्रदेश सभा सदस्यहरु दिपेन्द्र पुन, बसन्त घर्तीमगर, लालकुमारी पुन,
सो अवसरमा मञ्चले अध्यक्ष प्रचण्डलाई पनि बधाई तथा सम्मान गरेको थियो ।
मञ्चका अध्यक्ष जीवन रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष झन्कार बुढामगरले गर्नुभएको थियो भने स्वागत अर्का उपाध्यक्ष चेतन कुँवरले गर्नुभएको थियो ।