कारबाही गर्न नेकपाका नेताहरू खोज्दै प्रहरी - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

कारबाही गर्न नेकपाका नेताहरू खोज्दै प्रहरी



काठमाडौं। नेपाल प्रहरीले अमर्यादित भाषण गर्ने नेकपाका नेताहरूलाई खोजी कार्य सुरू गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित नारा लगाउने नेताहरुको खोजीमा प्रहरी जुटेको हो ।

संसद् विघटनको विरोधमा नेकपा (प्रचण्ड–माधव) समूहले १४ पुसमा राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध अमर्यादित नारा लागेको थियो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले अमर्यादित नारा लगाउनेहरुको खोजी भइरहेको जानकारी दिए।

विरोध प्रदर्शनमा अमर्यादित नारा लगाएको भन्दै प्रधानमन्त्री ओली निकट अखिल नेपाल महिला संघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्रसमेत बुझाएको थियो।

यसअघि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पनि अमर्यादित नारा लगाएको विषयमा सरकारको ध्यानाकर्ष भएको भन्दै कारबाही गरिने बताएका थिए।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले पनि दोषीमाथि कारबाही गरिने बताएका थिए। त्यसरी अमर्यादित नारा लगाउने दार्चुलाका पूर्व माओवादी नेता रहेको बताइएको छ।