एमालेमा एकता जोगाउन दोस्रो तहका नेताहरूको घनीभूत संवाद - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

एमालेमा एकता जोगाउन दोस्रो तहका नेताहरूको घनीभूत संवाद



काठमाडौं- एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्।

राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए। यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पार्टी एकताको पक्षमा छलफल भइरहेको जानकारी दिए। ‘पार्टी एकताको पक्षमा सार्थक छलफल भइरहेको छ’, नेता नेम्बाङले भने, ‘यो निरन्तर जारी रहन्छ।’ अध्यक्ष ओलीले दोस्रो तहकै नेताहरूको पहलमा जेठ २३ मा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन तयार रहेको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। नेपालले ओलीको उक्त प्रस्तावलाई जालझेल र षड्यन्त्रपूर्ण भन्दै अस्वीकार गरेका छन्।

ओली र नेपालीबीच तत्कालीन नेकपामा हुँदादेखि नै विवाद थियो। उनीहरूबीच पछिल्लो पटक वैशाख ३१ गते करिब चार घण्टा संवाद भएको थियो। उक्त वार्ताकै आधारमा दुवै पक्षबाट पाँच/पाँच जना सम्मिलित एकता कार्यदल बनाइएको थियो। कार्यदलले काम थालेकै बेला नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेपछि एकता प्रक्रिया खलबलिएको थियो।

दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन्। दुवै पक्षमा रहेका ‘केही अतिवादी’ले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरूको निष्कर्ष छ। एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुवै पक्षका दोस्रो तहका नेताको निश्कर्ष छ।

मध्यमार्गी लाइनमा गौतम
एमाले नेता वामदेव गौतमले ओलीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक छिटोभन्दा छिटो बोलाउनुपर्ने प्रस्ताव गरेका छन्। गौतमले मध्यमार्गी लाइन प्रस्तुत गर्दै जेठ २ गते कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयमा छलफल गरी सही मार्गदर्शन गर्न सुझाव दिएका छन्। ओलीको प्रस्तावमा जालझेल र कुटिलता भए पनि स्थायी कमिटी बैठक राखेर समाधान गर्नुपर्ने पक्षमा गौतम देखिएका छन्।

गौतम संयोजकत्वको एकता अभियानको बैठकले अध्यक्षको वक्तव्यमा आफ्नै प्रंशसालगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोगका बाबजुद एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट आगडि बढाइने भन्ने विषय सकारात्मक भएको निश्कर्ष निकालेको छ।

‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसालगायत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ भनेको विषयलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको छ’, बैठकपछि गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ। सोही बुँदामा एकताको पक्षमा उभिएको आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहने उनको भनाइ छ। अन्नपूर्णमा समाचार छ ।