नेता कसरी धनाड्य भए, सबैले सोधौं : कमल थापा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नेता कसरी धनाड्य भए, सबैले सोधौं : कमल थापा



निजगढ । राप्रपा अध्यक्ष कमल थापाले जनताको मुक्ति र आमूल परिवर्तनका लागि भनेर युद्धमा होमिएका पूर्वलडाकुलाई आफ्नो नेता र कमान्डरलाई कसरी धनाड्य हुनुभयो भनेर प्रश्न गर्न आग्रह गरेका छन् ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाराको निजगढमा आयोजित आमसभामा बोल्दै अध्यक्ष थापाले सशस्त्र संघर्षमा होमिएका युवाहरूको आशा निराशामा परिणत भइरहँदा नेता र कमान्डर नवधनाढ्यमा बनेको भन्दै प्रश्न गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचार डरलाग्दो ढंगबाट बढिरहेको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन नेपाल सरकारसँग माग समेत गरेका छन् ।

राप्रपा नेता बुद्धिमान तामाङले आफू बौद्ध धर्मावलम्बी भएपनि नेपाल हिन्दु राष्ट्र भएमात्र सनातन धर्मको रक्षा हुने बताए ।

राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले जातको आधारमा नभई आर्थिक रुपमा विपन्नलाई आरक्षणको व्यवस्था गरिनुपर्ने बताउदै हालको आरक्षणको व्यवस्था अधुरो रहेको बताए ।

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको छैठौं दिन आज सर्लाहीको हरिपुर, नवलपुर, हरिवन, सुकेपोखरी, रौतहटको बागमती, चन्द्रनिगाहपुर, बाराको निजगढ, पथलैया र अमलेखगञ्जमा सभाहरु गर्दै भरखरै हेटौंडा पुगेको छ ।

राप्रपाले नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्था बारे गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य लगायतका २२ बुँदे माग प्रस्तुत गरेको छ ।

यी विषयमा जनमत सिर्जना गर्न भन्दै फागुनको १५ देखि ३० गतेसम्म स्वाभिमान यात्रा सञ्चालन गरिरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । यात्रा फागुन ३० गते काठमाडौंमा समापन हुनेछ ।