कार्यदलको बैठक बस्नैलाग्दा नेपाल पक्षका नेताहरु निस्किए

काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू हुनैलाग्दा माधव नेपाल समूहका नेताहरू बाहिरिएका छन् । बैठक शनिबार २ बजेका लागि बोलाइएपनि करिव सवा चार बजे बस्न लागेको बैठकबाट नेताहरू बाहिरिएका हुन् ।
सिंहदरबारमा नेताहरूको चहलपहल भैरहेको बेला माधव नेपाल समुहका नेताहरू बाहिरिएपछि अनेक अड्कल काट्न थालिएको छ । नेताहरू निस्किएपछि बैठक सुरु हुन सकेको छैन ।
नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।
एमालेका एक नेताले वरिष्ठ नेता माधव नेपाललाई सहमतिको मस्यौदाबारे मुझाउन उनीहरू बाहिरिएको बताए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुले बताएका थिए ।
कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए ।

