क्लासिकटेक, ब्रोडलिंक नेट लगायतका कम्पनि खारेज गर्ने तयारी ! - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

क्लासिकटेक, ब्रोडलिंक नेट लगायतका कम्पनि खारेज गर्ने तयारी !



काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन आनकानी गरेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उनीहरुको अनुमति खारेज गर्ने तयारी गरेको छ।

ब्रोडलिंक, क्लासिक टेक, आइटेल र अलाइड नेट लिंकले रोयल्टी बुझाउन आनाकानी गरेको भन्दै प्राधिकरणले दूरसञ्चार ऐन २०५३ अनुसार ५ लाख रुपैयाँसम्म जरिवाना वा खारेजसम्मको सजाय गर्ने तयारी गरेको हो।

चैत १९ गते विभिन्न आर्थिक वर्षको रोयल्टी नबुझाएको भन्दै ८ वटा इन्टरनेट कम्पनीको नाममा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले सात दिनभित्र  बक्यौता बुझाउन भनेको थियो।

प्राधिकरणको उक्त सूचना जारी भएको दुई साता बितिसक्दा चार वटा कम्पनीले रोयल्टी बुझाइसके पनि चार कम्पनीले भने अटेर गर्दै आएका छन्। यीमध्ये ब्रोडलिंकको रोयल्टी सबैभन्दा बढी २५ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको सूचनापछि भायोनेटले एक करोड ४२ लाख १३ हजार ७ सय, आइफोर टेक्नोलोजिजले एक लाख ४५ हजार रुपैयाँ, आबीएसएसले एक लाख ११ हजार पाँच सय १८ रुपैयाँ र नेट म्याक्स टेक्नोलोजिजले ८ लाख १३ हजार रुपैयाँमध्ये पाँच लाख रुपैयाँ बुझाएका थिए।

दूरसञ्चार प्राधिकरणले दुई साताअघि विभिन्न इन्टरनेट सेवा प्रदायकहरुलाई अनुमतिपत्रको सर्त अनुसार आर्थिक वर्ष २०७३/०७४ को रोयल्टी बापतको रकम बुझाउन ताकेता गरेको थियो।