प्रचण्डसँग नेपालले भने: ओलीले निर्णय फिर्ता लिए हस्ताक्षर फिर्ता लिन्छौँ - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

प्रचण्डसँग नेपालले भने: ओलीले निर्णय फिर्ता लिए हस्ताक्षर फिर्ता लिन्छौँ



काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

नेता नेपाललाई भेट्न सोमबार बिहानै नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले १ घण्टा नेता नेपालसंग छलफल गरेको बताइएको छ । माधव नेपाल समूहभित्र देउवालाई दिएको समर्थन र हस्ताक्षर फिर्ता गर्ने बहस सुरू भएपछि प्रचण्ड बिहानै नेपाल निवासमा पुगेका हुन् ।

कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको हो ।

ओलीको आह्वानबारे साझा धारणा तय गर्न नेपाल समुहको बैठक बस्दै छ । भेटमा प्रचण्डले नेपालसँग हस्ताक्षर फिर्ताको मागबारेमा धारणा बुझेका थिए ।

जवाफमा नेपालले ओलीले पछिल्लो समय संविधान र लोकतन्त्र मास्ने थुप्रै निर्णय गरेकाले आफूहरू त्यो कलङ्क बोक्न तयार नभएको बताएका थिए ।

हस्ताक्षर फिर्ताको बिषयमा नेता नेपालले यो विषय नैतिकतासँग जोडिएकाले ओलीको त्यो माग पूरा नहुने जवाफ दिएका थिए । उनले हस्ताक्षर फिर्ता हुनका लागि ओलीले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने हुन्छ भन्दै यदि ओलीले विघटनको निर्णय फिर्ता गरेको खण्डमा हस्ताक्षर फिर्ता हुने उनले बताए ।