माधव नेपालको नयाँ पार्टीभन्दा नेपाली कांग्रेस राम्रो: विष्णु पौडेल - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

माधव नेपालको नयाँ पार्टीभन्दा नेपाली कांग्रेस राम्रो: विष्णु पौडेल



काठमाडौँ – नेकपा एमालेका उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले माधव नेपालको नयाँ पार्टीभन्दा नेपाली कांग्रेस राम्रो भएको बताएका छन् ।

उनले एमालेबाट छुट्टीएर माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेर घुमाउरो तरिकाले नेपाली कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्नु उत्तम हुने अभिव्यक्ति दिए ।

बुटवलमा रूपन्देही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालले कुनै सिद्धान्तनिष्ठ नभएर स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लगाए ।

एमालेबाट अलग्गिएर कांग्रेसको पछि लागेका नेपाललाई वामपन्थी भन्न नसुहाउने पौडेलको भनाइ थियो ।

‘माधव नेपालको झुण्डमा लाग्नुभएका साथीहरूले नेपालमार्फत् कांग्रेसको सेवा गर्न जरुरी छैन । बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटाहरू छन्,’ उनले भने, ‘तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले इतिहासमै बलियो र ठूलो कम्युनिष्ट पार्टी निर्माण गरेपनि सहअध्यक्ष बनेका पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोजेको र माधव नेपाललगायत स्वार्थी प्रवृत्तिले सघाएका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटनामा परेको पनि उल्लेख गरे ।