माधव नेपालका लागि एमालेमा खाली ठाउँ
काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका लागि पार्टीमा खाली ठाउँ राख्ने निर्णय गरिएको छ । तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको अन्तिम दिन एमालेले ९ वटा विभाग गठन गर्दै यस्तो निर्णय गरेको हो ।
आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। २५ सदस्य रहने व्यवस्था रहे पनि तत्काल थोरै सदस्य राखेर विभागहरू गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्कुल विभाग, विष्णु पौडेलको संयोजकत्वमा संगठन विभाग, सुवास नेम्वाङको संयोजकत्वमा संसदीय विभाग, विष्णु रिमालको संयोजकत्वमा आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा प्रचार विभाग, भानुभक्त ढकालको संयोजकत्वमा पर्यटन प्रवर्द्धन, राजन भट्टराईको संयोजकत्वमा विदेश विभाग, अग्नि खरेलको संयोजकत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको संयोजकत्पमा स्थानीय तह गठन गरेको छ।
पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि छलफल जारी रहेको बताउँदै उनले एकतावद्ध भएर लाग्नेका लागि विभागहरूमा ठाउँ सुरक्षित राखिएको जिकिर गरेका छन्।
पार्टीले गति लिइसकेको भन्दै ज्ञवालीले असन्तुष्ट पक्षलाई पनि बैठकमै आएर छलफल गर्न आग्रह गरेका छन्। पार्टीको आगामी ढाँचाबारे अनौपचारिक छलफल गर्न २२ गते बैठक बोलाइएको बताउँदै ज्ञवालीले २४ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधन प्रस्ताव तयार पार्ने जानकारी दिए।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। यसैगरी असोज ३ गते देशभरका सबै वडामा एकैसाथ वडा अधिवेशन र ९ गते पालिकास्तरको अधिवेशन गर्ने एमालेको निर्णय छ।