नेपालका डा सन्दुक रुइतले पाए भारतकै ठूलो नागरिक 'पद्मश्री' पुरस्कार - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

नेपालका डा सन्दुक रुइतले पाए भारतकै ठूलो नागरिक ‘पद्मश्री’ पुरस्कार



काठमाडौं । नेपालका चर्चित आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले भारतकै ठूलो नागरिक पुरस्कार पद्मश्री सम्मान ग्रहण गरेका छन् । सोमबार भारतीय राष्ट्रपति रामनाथ कोविदले उनलार्इ सो नागरिक सम्मानबाट सम्मानित गरेका हुन् ।

राष्ट्रपति निवासमा भएको विशेष समारोहमा यो वर्ष ८५ विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो। यसको घोषणा भने गत २५ जनवरीमै गरिएको थियो । जसमा ३ जनाले पद्म विभूषण, ९ जनाले पद्म भूषण र ७३ जनाले पद्मश्री पदक पाएका हुन् ।

डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचारपछि प्रयोग हुने लेन्स निर्माणका लागि यो सम्मान दिइएको हो ।

को हुन् डा. रुइत ?

उनी आँखाको प्रसिद्ध डाक्टरको रुपमा चिनिन्छन् । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । उनी आफैले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने बिभिन्न देशमा उनले दिएको तालिम र प्रबिधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् ।

यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतका बुबा नेपाल-तिब्बतबीच घोडा र नुनको ब्यापार गर्थे । तत्कालीन समयमा उनी ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जीलिङ पुगे । सुरुमा उनी दार्जीलिङको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । सन् १९६२ मा चीन-भारतबीच सीमायुद्ध भएपछि दार्जिलिङका स्कुल बन्द भए ।

त्यसपछि उनी काठमाडौंको सिद्धार्थ वनस्थलीमा पढ्न थाले । उनले सन १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।