अब नेपाली युवा अरबमा धाउनु पर्दैनः मन्त्री विष्ट
गुल्मी – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् ।
बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताए ।
विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताए । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उनले भने, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उनले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताए ।
विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए ।
युवाले अरबमा भेडा चराउनु पर्दैन
उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताए । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उनले भने, “गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।”
मन्त्री विष्टले गुल्मीका दर्जनौं सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताए ।
वचनबाट पछाडि हट्ने छैनौं
मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताए । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”
एकता हुन्छ
नेकपा एमाले केन्द्रीय सचिवसमेत रहनुभएका मन्त्री विष्टले दुई ठूला वाम पार्टीबीच छिट्टै नै पार्टी एकता हुने बताए । “पार्टी एकताको विषयमा कुनै आशंका र निराशा व्यक्त गर्नुपर्ने आवश्यकता छैन” मन्त्री विष्टले भने, “जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेका कारणले केही ढिला मात्र भएको हो ।”