भारत प्रवेशमा भिसा अनिवार्यको हल्ला : सत्य के हो ? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

भारत प्रवेशमा भिसा अनिवार्यको हल्ला : सत्य के हो ?



काठमाडौं – भारत प्रवेश गर्ने नेपालीलाई अनिवार्य भारतको भिसा लिएरमात्र आउन भनेको बहारमा ब्यापक चर्चा छ । यो चर्चा र हल्लाले कतिपय आम जनमानसमा अन्योलता पनि देखिएको छ ।

कतिपय देशहरुबाट भारत प्रवेश गर्ने नेपालीले भारतीय अध्यागमनमा झन्झट बेहोर्नु परेपछि दूतावासले शुक्रबार सूचना जारी गरी भिसा लिएरमात्र आउन सुचना जारी गरेको हो । तर यो नियम नेपालबाट सिधै भारत जानेको लागि भने होइन । नयाँदिल्लीस्थित नेपाली दूतावासले चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीलाई मात्र यो नियम लगाएको हो ।

ती देशबाट भारत प्रवेश गर्ने नेपालीले भारतीय अध्यागमनमा झन्झट बेहोर्नु परेपछि दूतावासले शुक्रबार सूचना जारी गरी भारतीय भिसा आवश्यक पर्ने जनाएको हो।

‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकाले सोहीबमोजिम गर्नुहुन जानकारी गराइन्छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा छ।

तर सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा भने दुवै देशका नागरिक एकअर्का देशमा खुला आवतजावत गर्न पाउने उल्लेख गरिएको छ ।

पछिल्लो समय विभिन्न देश हुँदै भारत प्रवेश गर्ने नेपालीलाई अनिवार्य भिसा लिनुपर्ने प्रावधान भारतले राखेको छ। भारतको यस्तो व्यवस्थाले धेरै नेपालीले भारतीय अध्यागमनमा अनावश्यक झन्झट बेहोर्नु परेको छ।

सुरुमा भारतले हङकङबाट भारत प्रवेश गर्ने नेपालीलाई मात्र भिसा अनिवार्य गरेको थियो तर पछिल्लो समय चीन, मकाउ र पाकिस्तानबाट प्रवेश गर्ने नेपालीलाई पनि भारतको भिसा अनिवार्य लिनुपर्ने बनाएको छ। नेपालले भने भारतीयलाई अझै पनि १९५० को सन्धिअनुसार नै व्यवहार गर्दै आएको छ। जुनसुकै राष्ट्र हुँदै नेपाल प्रवेश गर्ने भारतीयलाई नेपालको भिसा आवश्यक पर्दैन।

त्यस्तैगरी दिल्लीस्थित नेपाली दूतावासले भारतीय अध्यागमन पार गरी साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स (युएई), ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपालीलाई अनिवार्य रूपमा दूतावासले जारी गर्ने सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिन समेत भनेको छ।

सिफारिसपत्र लिन सम्बन्धित देश जानुपर्ने कारणसहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकट प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति, भारतबाहेक अन्य तेस्रो राष्ट्र गएको भए त्यसको अभिलेख (भिसा) पेस गर्नसमेत दूतावासले भनेको छ। अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपालीका हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचयपत्र÷कागजात पनि पेस गर्नुपर्ने छ।