नेपाली श्रमिकको सामान एअरपोर्टमा जफत गरेर लिलाम गर्ने नेपाल सरकारको दरिद्र मानसिकता। - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली श्रमिकको सामान एअरपोर्टमा जफत गरेर लिलाम गर्ने नेपाल सरकारको दरिद्र मानसिकता।



कर्ण अधिकारी मकाउ,चीन।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा दिन रात नभनी परिश्रम गरेर कमाएको पैसाले छुट्टी मनाउन नेपाल आउँदा १/२ सेट मोबाइल फोन र १/२ बोतल विदेशी ब्राण्डको रक्सी ल्याउँदा नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा जफत गर्न सुरु गरेको छ।उक्त जफत गरिएको सामानहरूलाई नेपाल सरकारले २ करोड रूपैयामा लिलाम गर्ने भन्दै लामो फेहरिस्तका साथ सामानको नामावली प्रकाशित गरेको छ।यसरी सरकारले बिदेशीएका श्रमिकको पसिनाको कमाइलाई लिलाम गर्नु दुर्भाग्य पूर्ण कुरा हो।नेपाल सरकारको घटिया रणनीतिका विरुद्धमा केही लेख्ने जमर्को गरेको छु।

देशलाई संवृद्धिको बाटो तर्फ उन्मुख गराउँछु भनेर नेपालको बागडोर सम्हाल्ने नेताहरूको अदुर दृष्टिका कारण आजको दिन सम्म आई पुग्दा ५०/६० लाखको हाराहारीमा श्रमिकको ट्याग भिर्दै दक्ष युवा जनशक्ति बिदेशीएका छन्।सरकारको अपरिपक्व रणनीतिका कारण न त देशमा बसेर रोजगारी गर्ने माहौल बन्यो न त पारिवारिक गुजारा नै।वार्षिक ५/६ लाखको हाराहारीमा एसईई उत्तिर्ण गर्ने भाइ बहिनीहरू प्लस २ गर्ने बित्तिकै विद्यार्थी भिसामा अध्ययन गर्ने भन्दै जापान,अस्ट्रेलिया,युरोप अमेरिका लगायतका देशहरू तर्फ लागेको हामी पाउँदछौ।त्यसै गरी १८ वर्ष उमेर पुरा गरेका युवा वर्गहरू पनि हातमा हरियो पासपोर्ट पर्न साथ वैदेशिक रोजगारीको लागि गल्फ कन्ट्री हुँदै युरोप अमेरिका लम्किएका हामीसँग थुप्रै उदाहरण छन्।आज त्यही श्रमिकले २/३ वर्ष प्रवासमा बिताएर नेपाल छुट्टी मनाउन आउँदा पसिनासँग पैसा साटेको धनले साथी भाइ र आफन्तलाई खुसी बनाउन कोसेली स्वरूप ल्याएको १/२ थान मोबाइल सेट,१/२ बोतल विदेशी रक्सी र केही लत्ता कपडा लिएर आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका कर्मचारीले कडाइका साथ चेक गर्दै नेपाल सरकारको नीति निर्देशन अनुरूप भन्सारको नीति भन्दै सामान जफत गरी दिनाले तपाईँ हामी बिदेशीएका नेपालीहरू मर्कामा परेका छौ।

सुकिला मुकिला लगाउनेहरूले टनका टन सुन बिना भन्सार सेटिङ मिलाएर विमान स्थलबाट बाहिर निकाल्न सफल हुन्छन् भने ती पसिनासँग पैसा साट्ने श्रमिकको सामान माथि गिद्धे नजर लगाउने नेपाल सरकारलाई राम्रो मान्न सकिँदैन।बिदेशीएका श्रमिकको रेमिट्यान्सले देश चलाउनेहरूले किन बिदेशीएका श्रमिक माथि राम्रो सोच्न सक्दैन ? विमान स्थलका कर्मचारीले सुकिला मुकिला र गोरा छाला भएकाहरूलाई गर्ने व्यवहार र श्रमिकलाई गर्ने व्यवहार आकाश जमिनले फरक पार्छन्।श्रमिकले ल्याएको २/४ तोला सुन देख्ने विमान स्थलका कर्मचारीले टनका टन सुन भित्रिदा किन देख्दैनन् ?

नेपाल सरकारको कमी कम्जोरी भनौ वा लठैत पन भनौ नेपालका विभिन्न क्षेत्रमा चरम रूपमा भ्रष्ट्रचार भई रहँदा चुँक्क सम्म बोल्न नसक्नु र भ्रष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन नसक्नु दुर्भाग्य पूर्ण कुरा हो।एनसेल प्रकरण,वाइड बडी प्रकरण,बुढी गण्डकी प्रकरण,३३ किलो सुन प्रकरणका विषयमा केन्द्रित नहुनु तर विदेशमा दु:ख गरेर केही कमाएर ल्याउने श्रमिकलाई कडा नीति अवलम्बन गर्नुले पनि यो सरकार जन विरोधी सरकार हो।काँग्रेस,कम्युनिस्ट वा अन्य राजनैतिक दल हाँक्ने नेताहरू हुन यिनीहरूमा कुनै किसिमको दूरदर्शिता भने छैन।

देश निर्माणका लागि भन्दै नमुना नेपालको अभियानलाई सार्थकता बनाउन स्थापना भएको धुर्मुस सुन्तली फाउण्डेशनले पनि बिदेशीएका नेपाली श्रमिकहरूसङ भिख माग्दै छन्।नेपाल सरकारलाई मेरो एउटै प्रश्न छ राष्ट्र बनाउने जिम्मा नेपाल सरकारको हो की धुर्मुस सुन्तली फाउण्डेशनको ? सरकारलाई अलिकति भए पनि लाज लाग्नु पर्ने हो।सम्माननीय प्रम केपी शर्मा ओली र कमरेड प्रचण्डलाई साक्षी राखेर स्टेडियम बनाउँछु भनेर गर्जन गर्ने धुर्मुस सुन्तलीको अगाडी सरकारको तर्फबाट प्रतिनिधित्व गर्नुलाई गौरव मान्न सकिन्छ की सकिँदैन ? म विकास विरोधी भने पक्कै होइन तर पनि बाध्य भएर सरकारको विरोध गर्दै धुर्मुस सुन्तलीलाई सहयोग गर्न सकिँदैन भनेको मात्र हुँ । गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि खटिएका धुर्मुस सुन्तली यति खेर सबै भन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाउने देश मलेसियामा छन्।त्यहाँका श्रमिकहरूले आफ्नो गाँस काटेर भए पनि सहयोग त गर्लान् तर त्यो सहयोगको औचित्य के ? आफैले दुख गरेर कमाएको पैसाले किनेको सामान त लान नदिने नेपाल सरकारलाई कसरी सहयोग गर्लान् खै ?

रोजगारीको सिलसिलामा प्रवासमा ज्यान गुमाउनेहरूको मृत शरीर दैनिक जसो ४/५ को सङ्ख्यामा विमान स्थलबाट बाहिरिएको हामी पाउँदछौ।विदेशी भूमिमा ज्यान अर्पण गर्ने रहर कसैलाई पनि हुँदैन तर बाध्यता भनौ वा विवशता नेपालीहरू विदेशी भूमिमा ज्यान गुमाउन विवश छन्।नेपाली श्रमिकले ल्याएको मोबाइल,घडी,२/४ बोतल रक्सीमा मात्र प्रतिबन्ध होइन सक्छौ भने रातो बाक्सामा प्याक भएर आएको श्रमिकको मृत शरीरलाई पनि प्रतिबन्ध लगाऊ किनकि नेपाल सरकारको आदेश बिना उसले विदेशी भूमिमा श्वास फेर्न बिर्सिएको छ।