प्रधानसेनापतिको बोलीले राजनीति देखि सरकारसम्म तरङ्ग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानसेनापतिको बोलीले राजनीति देखि सरकारसम्म तरङ्ग



काठमाडौं :  लोकतान्त्रिकरणका नाममा सेनाभित्र ‘सुक्ष्म व्यवस्थापन’ गर्न खोजे स्वीकार्य नहुने र सेनाभित्रको भ्रष्टाचारमा सेनामात्र दोषी रहँदैन भन्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको धारणाले राजनीतिक वृत्तमा नया“ बहस आरम्भ भएको छ ।

 

त्यस अतिरिक्त सैन्य विशेष अदालतलाई सेनाले नै सबल बनाउने उनको धारणामा रक्षा मन्त्रालय गम्भीर बनेको छ । विशेष अदालतको एक पाटो मन्त्रालय पनि हो । तर सेनाको प्राड (कानुनी) विभागबाट सैन्य विशेष अदालतमा मुद्दा जाहेर भए यो अदालत निष्क्रिय हुन नसक्ने धारणा मन्त्रालयको छ । रक्षाका अधिकारीले सेनाको प्राड विभाग नै सुस्त रहेको मन्त्रालयको धारणा रहेको जानकारी दिए ।

रक्षामन्त्रीदेखि अन्य मन्त्री एवं राजनीतिज्ञ सोध्न थालेका छन्, ‘यस्तो धारणा नयाँ प्रधानसेनापतिले ल्याए । साँच्चै सुधार हुन लागेको हो त ? ’ सेनापतिसँग अनौपचारिक छलफल गरिसकेका रक्षाका अधिकारीले बताए । शुक्रबार बिहान प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा नीतिको उच्चस्तरीय समिति बैठक र साँझ जंगी अड्डामा दिएको रात्रि भोजमासमेत उनीहरूले प्रधानसेनापतिको धारणाबारेमा कुरा उठाएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो विषयमा चासो व्यक्त गरे । पत्रकार सम्मेलनमा आएको अभिव्यक्ति राजनीतिक भयो कि रक्षामन्त्री पोखरेलले जिज्ञासा व्यक्त गरे । प्रधानसेनापति थापाले सेनाकै केही पंक्तिबाट हुने चलखेल र भेटघाटलाई आफूले संकेत गरेको जानकारी दिएको रक्षा अधिकारीले बताए । उनले सेनामा सुधार गर्न आफूले सबैको साथ खोजेको पनि स्पष्ट पारे । सेनाभित्र सुधारको खाँचो रहेको भन्दै उनले आफ्नो कार्यकालमा देखिने गरी नै सुधार गर्ने प्रण गरे ।

रक्षासचिव विष्णु लम्साललगायत अन्य रक्षा अधिकारीले पनि प्रधानसेनापतिसँग जिज्ञासा राखेको रक्षा अधिकारीले बताए । रक्षाको स्विकृतीमा सेनाले १० वर्षपछि यस्तो पत्रकार सम्मेलन गरेको हो । प्रधानसेनापतिले पत्रकार सम्मेलन गरी जवाफदेही बन्न खोज्नु राम्रो भए पनि राजनीतिक अभिव्यक्ति दिएको बुझाइ मन्त्रालय र दलहरूको छ ।

दलहरूले सेनालाई विकास निर्माणका गतिविधिमा धेरै संलग्न गराएकाले सेनामा भ्रष्टाचार हुने गरेको चर्चामा आएको हो । यतिबेला भने सेनाले नै भ्रष्टाचार रहेको स्विकारेकाले बहस सिर्जना भएको हो । प्रधानसेनापतिले सेनामा भ्रष्टाचार रहेको तर यसको नियन्त्रण सैन्य विशेष अदालतबाट हुने बताएका थिए । उनको भनाइले मन्त्रालयलाई सेनाले आफ्नो ढंगबाट अघि बढाउन खोजेको संकेतका रूपमा रक्षा अधिकारीले लिएका छन् । रक्षा र सेनाबीच पहिलेदेखि नै विश्वसनीय सहकार्य नभएका बेला दुवैबीच सम्बन्ध अझ चिसिने खालका धारणा सेनापतिबाट सार्वजनिक भएका हुन् ।

कतिपय नेता आफ्ना कुरा बाहिर आउने हुन् कि भन्ने त्रासमा समेत रहेको रक्षाका अधिकारीहरूले बताए । विकास निर्माणका काम सेनाले लिएपछि विवाद नहुने र आफ्नो हिस्सा पनि रहने दलका नेताहरूले बेलाबेलामा सुनाउने गरेकाले यसमा सेना सचेत बन्नुपर्ने देखिन्छ । प्रधानसेनापति शुक्रबार करिब ३ घण्टा रक्षा मन्त्रालयमा राष्ट्रिय सुरक्षा नीति परिमार्जनसम्बन्धी बहसमा सहभागी थिए । त्यहाँ अन्य विषयमा छलफल भए पनि पत्रकार सम्मेलनसम्बन्धमा पनि कुराकानी भएको थियो ।

प्रधानसेनापतिले आफूले सेनाको संरचना पारदर्शी, अब्बल, अनुशासित बनाउने प्रयास गरेको बताए । त्यसका लागि उनले राजनीतिज्ञ तथा निजामती कर्मचारीको सकारात्मक र रचनात्मक साथ खोजेको बताए । सरकारले दिएको साथमा पनि उनले खुसी व्यक्त गरेको सहभागी एक रक्षा अधिकारीले बताए । सेनामा माथिल्लो ओहोदाका अधिकारीहरूका पत्नीहरू हाबी हुने प्रचलन तोड्ने उनको लक्ष्य देखिएको छ । प्रधानसेनापतिकी पत्नीलाई महारानी भन्ने प्रथा, अर्दली राख्ने, सेनापति हिँड्दा अत्यधिक सुरक्षाकर्मी राख्ने, व्यक्ति हाबी हुनेलगायत विषय सुधार गरेर संस्थागत गर्न तम्सिएका सेनापतिलाई सरकारले समेत साथ दिने धारणा रक्षाको छ ।

पूर्वरक्षामन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले सेनामा माइक्रो म्यानेजमेन्ट अलि स्पष्ट नभएको तर सेनाले आफूलाई सुधार्न खोज्नु उचित रहेको बताए । ‘सेनामा राजनीतिक दलको प्रभाव हुनु हुँदैन । वरिष्ठ सैनिक अधिकारीले नै यसमा ध्यान दिनु पर्छ । मुलुकको रक्षापंक्ति रहेकाले पनि सेनाको आधुनिकीकरण गर्न आवश्यक छ’, उनले भने, ‘विश्व कूटनीतिमा नेपालको साख सेनाले नै बचाएको भुल्नु हँुदैन । सेनालाई राजनीतिक विवादमा नपारी अघि बढाउन सक्नुपर्छ ।’ सरकारले सेनालाई विकास निर्माणका काम गराउन हुने उनको धारणा छ ।

प्रधानसेनापतिले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई दिने सुरक्षा गार्ड पनि छिटो छिटो परिवर्तन गर्ने जानकारी समेत दिइसकेका छन । एउटै ब्यक्ति लामो समय बस्दा उसले त्यहाँबाट शक्तिको दुरुपयोग गर्ने र सुरक्षा पनि एकांगि हुने भन्दै उनले यसमा सुधार गर्न लगेको रक्षा अधिकारीले बताए । सेनाका अधिकृतहरुसँग रहने सिपाही पनि परिवर्तन भइरहने विषय प्रधानसेनापतिले पहिलेनै बताएकाले यसमा समेत सुधार हुने अपेक्षा गरिएको छ । कल्याणकारी कोषमा उपरथि रहदै सुधार गरेका सेनापतिले अन्य धेरै क्षेत्रमा सुधारको खाका प्रस्तुत गरेकाले त्यसको सुधारको लागि आवश्यक तयारी चाहिने बताए । उनले गर्न लागेको काममा राजनीतिक हस्तक्षेप नभए सेनाभित्र धेरै सुधार हुने खाँडको धारणा छ ।

नवनियुक्त रक्षा प्रवक्ता बाबुराम गौतमले सेनापतिले सुधारको पक्षमा रहेर बोलेको विषयमा हामीले अहिले नै केही औपचारिक छलफल गरेका छैनौ तर अनौपचारिक केही भएको भए आफूलाई जानकारी नभएको बताए । ‘म हिजोबाट मात्र प्रवक्ता तोकिएको हुँ,’ उनले भने, ‘यसबारेमा बुझौला । मन्त्रालयमा बैठक भएकाले केही अनौपचारिक छलफल भएको हुनसक्छ । तर नराम्रो पक्ष केही छैन । सुधारको विषयमा छलफल भएका छन । हामी धेरै कामहरु गर्न अग्रसर छौ । गरिरहेका पनि छौ ।’ रक्षा मन्त्रालयले सेनाले पठाएको सबै विषयलाई स्विकार गरिदियोस झै ठान्ने तर रक्षाले त्यसो नगरेपछि सेनाभित्र यस्ता विषय बहस हुने गरेको पाटो पनि रक्षा अधिकारीले बताए ।

उपप्रधान एवं रक्षामन्त्री पोखरेलले पनि सेनाको विषयमा मन्त्रालय स्पष्ट छ यसमा कुनै त्यस्तो समस्या नभएको बताए । सेनाले मन्त्रालयको स्विकृत लिएर नै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा ब्यक्त भएका सुधारको विषयलाई कार्यावन्यनमा ल्याउन सके राम्रो हुने देखेको बताए । नरम र सरल देखिने प्रधानसेनापति थापाको प्रस्तुति कडा रहेकाले सबैमा आशंका ब्यक्त भएको हो । प्रधानसेनापतिले पत्रकार सम्मेलनमा मुलुक र संविधानको रक्षा सेनाले नै गर्ने हो भन्दै यसमा सेना कहिल्यै विचलित नहुने समेत स्पष्ट पारेका थिए ।

पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातले सेनाभित्रको भ्रष्टचार नियन्त्रण गर्न कठिन नहुने बताए । सेनालाई चुस्त र अब्बल बनाउन प्रविधिले बढि शसक्त सेना बनाउन पर्ने बताए । सेनालाई राजनीतिबाट टाढा राखेर राष्ट्रको एकताको प्रतिककै रुपमा राख्न सक्नुपर्ने बताए । सेना भित्र सुधार गर्ने प्रधानसेनापतिको धारणाले धेरै आशावादी छन, ‘उहाँले यसअघि पनि धेरै स्थानमा सुधार गर्नुभएको छ । निडर र आफन्तबाट पनि टाढा रहने हुनाले उहाँले सेनामा देखिने खालको परिवर्तन ल्याउन सक्नुहुने आशा हाम्रो पनि छ । हामीले पनि संयन्त्र मार्फत सुझाउन काम गरिरहेका हुन्छौ ।’

प्रधानसेनापतिले विखण्डनकारीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारले गरेको प्रयासको प्रशंसा गर्दै सेनाले त्यस्ता गतिविधीलाई सुक्ष्म अध्ययन गरिरहेको बताए । सेनाभित्रको भ्रष्टचारलाई बाह्य पक्षलाई समेत जोडेका थिए । उनले अन्य सुरक्षा निकायसंग गर्ने सहकार्य देखि सेना सधै तयारी अवस्थामा बस्ने विषयमा राखेको धारणाले चासो ब्यक्त भएको हो । सेनाले आफूलाई आधुनिकीकरण गरेर अघि बढ्ने र अन्य मुलुकसंग प्रशिक्षण सहकार्य गर्ने लगायको धारणा बाहिर ल्याएको छ । सेनाले ल्याएको धारणाले कतिपय राजनीतिज्ञहरुले सेनाले के भन्न लागेको हो भन्दै चासो देखाएका छन ।

अन्नपुर्णपोष्टमा खबर छ