विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, लामो दुरीका सवारी चल्ने - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, लामो दुरीका सवारी चल्ने



काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका भनिएका व्यक्तिको उद्धार गर्ने भएको छ ।

शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा अन्तर्रा्ष्ट्रिय हवाइ उडान स्थगित गर्ने घोषणा भएपनि विदेशी विमानस्थलमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

‘विमानस्थलमा अलपत्र परेका भनिएका व्यक्तिलाई दूतावाससँग सम्पर्क गरेर उद्धार गरेर ल्याउने कुरा भएको छ,’ सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले समितिका निर्णय सुनाउँदै भने, ‘उद्धार गरेर ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने छ ।’

नेपालीलाई उद्धार गरेर ल्याउन सम्बन्धित मन्त्रालयले नेपाली दूतावाससँग सम्पर्क गर्ने मन्त्री खतिवडाले बताए ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन बन्द गर्ने भनिएपनि आपूर्ति र ढुवानीसँग सम्बन्धित सेवा प्रभावित नहुने मन्त्री खतिवडाले स्पष्ट पारे ।

‘कोरोना संक्रमितको शंका लाग्ने व्यक्ति अस्पताल आउँदा कतिपय अस्पतालले जाँच नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वास्थ्य उपकरण उपलब्ध गराउने र चेकजाँच नगर्ने सुविधा कसैलाई हुँदैन भन्ने कुरा भएको छ,’ खतिवडाले भने, ‘अतिआवश्यक वस्तुको सेवालाई सूचारु गर्र्ने र सार्वजनिक अरु सेवालाई निरुत्साहित गर्नुपर्छ भन्ने कुरा भएको छ ।’