दुई नेपाली महिलालाई भारतमा १० वर्षको जेल
काठमाडौं- दुई नेपाली महिलालाई भारत उत्तर प्रदेशको बहराइचमा १० वर्षको जेल सजाय भएको छ । चरेससहित पक्राउ परेको भनिएका दुवैविरुद्ध शनिबार बहराइचका विशेष न्यायाधीश नितिन पाण्डेयले सजायको फैसला गरेका हुन् ।
दुवै महिलालाई २०१९ फेब्रुअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरेको प्रहरीको दाबी थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवीलाई सजाय भएको हो । दुवैको विस्तृत ठेगाना भने खुलाइएको छैन । अदालतले दुवैलाई जनही एक/एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ ।
जरिवानाको रकम नबुझाए दुवैले थप दुई वर्ष जेल बस्नुपर्नेछ । एडीजीसी क्रिमिनल फिरोज अहम्मद खाँले रुपैडिहा थानाको प्रहरीले रोडवेज बसको प्रतीक्षा गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा चरेससहित उनीहरूलाई पक्राउ गरेको बताएका छन् ।चरेसको परिमाण भने खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले दुई नभई तीन नेपाली महिलालाई जेल सजाय भएको जानकारी आएको बताए । भारतीय समकक्षीसँग यसबारेमा विस्तृत जानकारी लिने काम भइरहेको उनले जनाएको कान्तिपुरले लेखेको छ ।
बहराइचको कारागारमा दर्जन बढी नेपाली महिला रहेको अनुमान नेपाल प्रहरीको छ । कारागारमा रहेका अधिकांश नेपाली महिला र पुरुष लागूऔषधको कारोबारमा संलग्नताको आरोपमा पक्राउ परेकाहरू छन् ।