कांग्रेसमा आउला त उत्साह ? यस्तो छ नयाँ विधान - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कांग्रेसमा आउला त उत्साह ? यस्तो छ नयाँ विधान



काठमाडौं : नेपाली कांग्रेसको प्रस्तावित विधानमा पुराना नेताहरूलाई सम्मान गर्नका लागि सम्मानित सदस्यताको प्रस्ताव आएको छ।

पार्टीमा क्रियाशील रहेर कम्तीमा तीन वर्ष जेल बसेको र निर्वासनमा रहेको तथा २०३६ सालपूर्व पार्टी पदाधिकारीका रूपमा काम गरेको वा पार्टीको तर्फबाट निर्वाचनमा विजयी भएकाले सम्मानित सदस्यता पाउने विधानमा उल्लेख गरिएको छ।

पुराना नेताहरूले अवसर नपाएको भन्दै बेलाबेला कांग्रेसमा गुनासो आइरहन्छ। विधानमा यो प्रस्ताव आएसँगै अब भने प्रजातन्त्र सेनानी र पुराना नेताहरूले अवसर पाउने निश्चित छ। पार्टीले इतिहास निर्माणमा योगदान गरेका नेताहरूलाई वास्ता नगरेको भन्दै पुराना नेताहरूले गुनासो गर्दै आएका छन्। विधानमा यो व्यवस्था आएपछि पुराना योद्धालाई अहिले सम्मान गरेजस्तै भएको छ। उनीहरू यो व्यवस्थालाई विधानमै पारित गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

यसअघि कांग्रेसले पुराना योद्धालाई बेवास्ता गरेको भन्दै कांग्रेस नेता प्रदीप पौडेलले योद्धा खोज्ने अभियान सुरु गरेका थिए। ७७ वटै जिल्लामा रहेका प्रजातन्त्र सेनानीलाई सम्मान गर्ने भन्दै उनी अभियान लिएर देश दौडाहामा निस्किएका थिए। तीन जिल्ला प्युठान, अर्घाखाँची र लमजुङमा गरी करिब ३०० लाई प्रजातन्त्र सेनानी पनि घोषणा गरिसकिएको छ।

जिल्ला पार्टीको सिफारिसमा वि.सं. २००३ देखि २०४७ सम्म योगदान पर्‍याएका नेता तथा कार्यकर्तालाई सम्मान गरिनेछ। पार्टी स्थापनाताका देखि २०४७ सालसम्मका जिल्लाका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न अभियान सुरु गरिएको थियो। यस्तै, २००४ देखि २०४७ सम्म महिला संघबाट जिल्लाको नेतृत्व गरेका महिलालाई सम्मान गरिने लक्ष्यका साथ योद्धा खोज्न कांग्रेस जिल्ला कार्यसमिति लागिपरेका थिए। यसैगरी नेविसंघको स्थापना २०२७ देखि २०४७ सालसम्मका केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्मान गर्ने योजना थियो। २००७ सालमा प्रजातन्त्र स्थापनका लागि भएको आन्दोन, २०४६ सालमा भएको जनआन्दोलनमा योगदान गरेका सेनानीलाई कांग्रेसले भन्दै पौडलसहितका नेता देश दौडाहामा थिए। तर पछिल्लो समय विधान मस्यौदा समितिमा पौडेल बसेपछि अभियानले निरन्तरता पाउन सकेको थिएन।

‘पुराना नेताप्रति पार्टी उदासीन देखियो’, नेता पौडेलले भने, ‘त्यस कारण मैले अभियान सुरु गरेको थिएँ। अहिले स्थगित भएको छ।’ तर पार्टीले नै पुराना नेताको सम्मान गर्ने विधानमै उल्लेख भएपछि झनै सहज भएको उनी बताउँछन्। ‘लोकतान्त्रिक सेनानी खोज्ने अभियान जारी रहन्छ’, उनले भने, ‘अब त झन् विधानमै उल्लेख गरेपछि वैधानिकता पाएको छ। अब सीमा तोकेर हामी अघि बढ्छौँ।’ ‘लोकतान्त्रिक सेनानी’ घोषणा र विधानमा उल्लेख गरिएको सम्मानित सदस्यको विषयले पुराना नेताहरूलाई उत्साह थपेको कांग्रेसका पुराना नेता तथा प्युठानबाट ‘लोकतान्त्रिक सेनानी’ घोषणा भएका डा. नवराज शर्मा बताउँछन्।

‘यसरी विधानमै व्यवस्था गर्दा पुराना नेताहरूलाई सम्मान महसुस हुन्छ’, उनले भने, ‘यो गर्न जरुरी पनि छ।’ पुराना नेताहरूलाई अवसर दिएर नयाँ माझ पुरानाको अनुभव बाँड्ने मौका दिनुपर्ने उनी बताउँछन्। ‘विधान पास त भएको छैन तर हामीले आशा गरेका छौँ, यो पास हुन्छ’, उनले भने, ‘अब पुराना नेताबाट पार्टीले शिक्षा लिनुपर्छ।’ तर सम्मानित सदस्य दिँदा ध्यान दिनुपर्ने अर्का पुराना नेता तुलसी भुसाल बताउँछन्। विधानमा भएको सम्मानित सदस्यको विषयले पुराना नेताहरूमा खुसी छाए पनि गलत मान्छेले पाउने हो कि भन्ने चिन्ता रहेको उनी बताउँछन्। ‘ढिलै भए पनि राम्रो प्रस्ताव आएको छ’, उनले भने, ‘तर पार्टीमा दुःख नगरेकाले पनि नातावादका आधारमा लिन सक्छन्। यसमा पार्टी सजग हुनुपर्छ।’ तर पार्टीले ल्याएको यो अभियान पनि लागू हुन्छ कि हुन्न भन्ने चिन्ता रहेको उनी बताउँछन्।

‘पार्टीमा पुराना नेताका लागि भनेर पहिला पनि धेरै अभियान आए तर पुराना नेता सधैँ पछि परे। ती अभियानहरू लागू भएनन्’, उनले भने, ‘यो अभियान पनि लागू नहोला कि भन्ने चिन्ता त छ नै।’ पार्टीमा योगदान गरेका पुराना नेताहरूलाई सम्झने गर्नुपर्ने पार्टीका पुराना योद्धाहरू बताउँछन्। पार्टी स्थापनादेखि अहिलेसम्मको परिवर्तन र क्रान्तिमा योगदान गर्ने पुराना योद्धालाई बिर्सिएर पार्टी अघि बढ्न नसक्ने उनीहरू बताउँदै आएका छन्। सम्मानित सदस्यता मात्र दिएर नहुने बताउँदै पुराना नेतालाई उचित जिम्मेवारी पनि दिइनुपर्ने भुसाल बताउँछन्। ‘पार्टीलाई अघि बढाउने हो भने आजको मात्र बाटो हेरेर हुँदैन’, उनले भने, ‘विगतमा पार्टीका लागि कसले कस्तो योगदान गरेको थियो, त्यो पनि हेर्नुपर्छ। त्यहाँबाट शिक्षा लिए मात्र कांग्रेस सफल हुन्छ।’