नेपाली कांग्रेस पुनर्वासले निकाल्यो विशाल र्याली, मन्त्री वीना मगर प्रति चर्को आलोचना
हेमन्त न्यौपाने /पुनर्वास,
नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को पुनर्वास नगरपालिकामा शुक्रवार नेपाली कांग्रेस पैरवी समितिले सरकारका विरुद्ध शान्तिपुर्ण विशाल र्याली निकालेको छ । भ्रष्टाचार, महंगी, अनियमित कर, बलात्कार, हत्याहिंसा लगायतका विरुद्धमा असन्तुष्टि जनाउँदै नगर कमिटीले पुनर्वास नगरपालिकालाई २५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
र्यालीबाट कोणसभामा परिणत कार्यक्रममा नेताहरुले मन्त्री मगरको चर्को आलोचना गरे । पुनर्वास नगरपालिकाका लागि नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार समेत रहनुभएकी युवानेतृ भुलिया रानाले मन्त्री प्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कञ्चनपुरमा दिनानुदिन बलात्कारका घटना भईरहँदा समेत खानेपानी मन्त्रीले अहिलेसम्म कुनै विज्ञप्ती समेत जारी गर्न नसक्नु, जनतालाई यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति मन्त्री भएको अनुभुती गराउन नसक्नु ठुलो कमजोरी रहेको जिकिर गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा उपस्थित बेलौरी नगरपालिका मेयरपदका उम्मेदवार समेत रहनुभएका युवा नेता हरेन्द्र बिष्टले सीमा समस्या, सुकुम्बासी समस्या, महंगी, दोहोरो कर लगायत शान्तिसुरक्षाका चुनौतीमा सरकार चुकेको औल्याउँनु भयो । उहाँले यस क्षेत्रबाट चुनाव जितेका नेकपामा नेताहरु अपांग भएको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले मन्त्री वीना मगर सांसद तारा लामा तामाङ हुँदै नगरपालिका सम्मका जननिर्वाचित प्रतिनिधिहरु दुईतिहाईको घमण्डमा लिप्त रहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख जीवनराज थापा दुई दुई दिनमा प्लेनबाट काठमाडौँ जानुपर्ने कारण स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मेयर सा’प आज काठमाडौं भोलि कञ्चनपुर फेरी पर्सी काठमाडौ गर्नुपर्ने त्यस्तो कारण के छ ? जनतालाई स्पष्ट पार्नुपर्छ । डेलिगेसनका नाममा जनताबाट उठाएको दोहोरो करको पैसामा मोज गर्न पाइन्छ ।”
त्यस्तै, संविधान सभा सदस्य तथा पुर्व सांसद दिवान सिंह बिष्टले नेकपा सरकारले नक्कली राष्ट्रबादी बनेर जनतालाई झुक्याई जनताको मत लिएको बताउनुभयो । यस सरकारले नारीको अस्तित्व रक्षा गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले २ महिना हुँदा सम्म निर्मलाको हत्यारा पत्ता लगाउन नसक्नु नेकपा सरकारको नालायकपन स्पष्ट भएको बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेस क्षेत्रीय सभापति गोपि उपाध्यक्षले पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले शहिद गोविन्द गौतमको परिवारलाई यथासिघ्र रोजगारी दिन्छु भनेर झुक्याएको बताउनुभयो । सीमा समस्या समाधान र शहिदको सम्मान नगरपालिका देखि केन्द्र सरकार सम्मले गर्न नसकेको औल्याउनु भयो ।
वृहत् विरोध र्यालीमा ठुलो संख्यामा जनसहभागिता रहेको थियो । पुनर्वासको प्रतिभानगर बजारबाट सुरु भएको विशाल र्याली आईबिआरडी बजार परिक्रमा गर्दै एनसेल चोकमा कोणसभा गर्दै सम्पन्न भएको थियो ।