नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्छ : प्रकाशशरण महत - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्छ : प्रकाशशरण महत



नयाँ दिल्ली 

पुर्व परराष्ट्र मन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल तरुण दल उत्तर भारत समिति र सिए नेपाल विद्यार्थी सङ्घले संयुक्त रूपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका नेता महतले यस्तो बताएका  थिए  ।

उनले पार्टीको नीति ठिकै छ, हामीहरूले काम गरेको जनताले बुझेकै छन् भन्ने जमाना गएको भन्दै मार्केटिङ आवश्यक भएको समेत औँल्याए । कुनै पनि कम्पनीले राम्रै सेवा र उत्पादन बजारमा ल्याएपनि ग्राहकले बुझेन भने विक्री नहुने भएकाले मार्केटिङ गर्ने गरेको बताउँदै राजनीतिमा पनि अहिले मार्केटिङ आवश्यक भएको बताए  । नेपाली काँग्रेस विज्ञापन गर्न नजान्ने र आफ्नै कुरा पनि नभन्ने पार्टी भएको बताए ।

विज्ञापनले कसैका तिल बराबर काम पहाड र पहाड बराबर गल्ती तिल भइदिने र आफुहरुको पहाड बराबर काम तिल र तिल बराबरको गल्ती पहाड भईदिदा आफ्ना साथीभाइ पनि उनीहरूको प्रोपोगाण्डाबाट प्रभावित हुने गरेको बताए । उनले विज्ञापननै चुनाव परिणामको कारक भएको समेत सङ्केत गरेका छन् । सर्वहारा वर्गका लागि नभई पार्टीका लागि काम गरेको आधारमा जनताका काम हुन थाले भने काँग्रेसले खबरदारी गर्ने बताए। पार्टीको पक्षको भए बढुवा हुने र कानुन सम्मत चल्नेलाई अगाडी बढ्न नदिने भयो भने हामी कानुनी शासनमा देशलाई लग्न प्रतिपक्षीको भूमिका निर्वाह गर्नेमा जोड समेत दिए ।

सिए नेपाल विद्यार्थी सङ्घका सभापति गिरु  न्यौपानेले अध्यक्षता गरेको कार्यक्रममा नेपाल तरुण दल उत्तर भारत समितिका अध्यक्ष एलपी पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन भने सिए नेपाल विद्यार्थी सङ्घ भारतका सल्लाहकार फर्सुराम भण्डारीले गरेका थिए ।