नेपाली कांग्रेसद्वारा पूर्वमन्त्री चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नेपाली कांग्रेसद्वारा पूर्वमन्त्री चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश



पर्सा । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।

क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए ।

उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पूर्वमन्त्रीसमेत रहेका चौधरी र पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेर पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताए

क्षेत्रीय समितिको बैठकले पार्टीका उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डेलाई कारबाही गर्न सर्वसहमत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तवले जानकारी दिए ।