नेपाली चेलीले देखाए कमाल: अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेपाली चेलीले देखाए कमाल: अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप



काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। यो नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि पनि हो।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो।

नेपालले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो। यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो।

जीतका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो। कतारकी शीर्ष क्रमकी ब्याट्सवुमन एलिना खानले ३३ बलमा तीन चौकासहित सर्वाधिक १९ रन बनाइन्।

त्यस्तै कप्तान आयशा १४ बलमा एक चौका र एक छक्कासहित १३ रनमा क्याच आउट भइन् भने अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १/१ विकेट हात पारे।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो। नेपालका लागि सीता राना मगरले अविजित रहँदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। सीताले ७२ बलमा ७ चौका प्रहार गरिन्। यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन्। काजल श्रेष्ठ १२ रनमा आउट भइन् भने सरिता मगर १७ रनमा अविजित रहिन्। कतारकी एञ्जेलिन मारे, साची ढाटवाल र आयशाले १/१ विकेट लिइन्।

आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलेको हो। छनोट यही मङ्सिर ६ देखि १२ गतेसम्म दुबईमा आयोजना हुनेछ। नेपाली टिम कतारबाटै आज दुबई प्रस्थान गर्नेछ। छनोटमा ६ टिम सहभागी छन्। नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन्।