लाखौँ नेपाली भाषी एनआरसीबाट वञ्चित भए
बीबीसी- भारतको असमका एक लाख नेपाली भाषी राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) बाट वञ्चित भएका छन् । इन्डियन एक्सप्रेस अखबारले असमका एक लाख नेपाली भाषी (गोरखा) नागरिक एनआरसीबाट वञ्चित भएको जनाएको छ ।
गोरखा समुदायले नेपाल सरकारसमक्ष एनआरसीबाट वञ्चित भएपछि चिन्ता जनाएको पनि समाचारमा उल्लेख छ । यद्यपि, नेपाल र भारतबीच यसका विषयमा कुनै औपचारिक र आधिकारिक कुराकानी नभएको बताइएको छ ।
अखबारले नेपाल सरकारको स्रोतलाई उद्धृत गर्दै भारतका वरिष्ठ मन्त्रीहरू अमित शाह र राजनाथ सिंहको बयानबाट नेपाली मूलका नागरिकलाई कुनै समस्या नहुनेमा नेपाल आश्वस्त रहेको पनि दाबी गरेको छ ।
स्रोतले एनआरसीको मुद्दा ‘भारत र उसका नागरिकको मामिला’ भएको जिकिर गर्दै सम्बन्धित नेपाली भाषी भारतका लागि ‘स्थानीय’ भएको बताएको समाचारमा उल्लेख छ ।
स्रोतले असमका नेपाली भाषीलाई केही समस्या भए छलफलका माध्यमबाट समस्या समाधान गर्न सकिने पनि समाचारमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।