नेपालसामु ओमान निरिह : नेपाल विशाल अन्तरले विजयी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालसामु ओमान निरिह : नेपाल विशाल अन्तरले विजयी



आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।

नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए ।

नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए ।

शर्राफले १० ओभरमा २ मेडन राख्दै मात्र २४ रन खर्चिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।

खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए ।

प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।

अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।

ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।

हालसम्म नेपालले तीन खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।