नेपालले जित्यो रजतपदक
जकार्ता । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीमा नेपालले रजतपदक जितेको छ ।
जकार्ता एसियाडमा बुधबार नेपालको पदकविहीन यात्रा तोडिएको हो ।
पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीतर्फ पाँच चरणसम्म भएको खेल बुधबार सकिएको हो ।
जसमा नेपालले समग्रमा ११ हजार ३६४ स्कोर गर्दै रजतपदक जितेको हो । जापानले समग्रमा ११ हजार ३९१ स्कोर गर्दै स्वर्णपदक हासिल गर्यो । आयोजक इन्डोनेसियाले समग्रमा १० हजार ८७३ स्कोर गर्दै कास्यपदक पायो ।
पाँचौं चरणमा सबैभन्दा बढी २७ सय ९७ स्कोर नेपालले गर्यो । तर, जापानलाई उछिन्न सकेन ।
एसियाली खेलकुदमा नेपालको यो दोस्रो रजतपदक हो । यसअघि, सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको तर्फबाट रजतपदक जितेकी थिइन् ।
रजतपदक विजेता पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री टिम इभेन्टका नेपाली खेलाडीहरु विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा हुन् ।