आजदेखि नेपालमा खोप अभियान: यस्तो छ तयारी - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

आजदेखि नेपालमा खोप अभियान: यस्तो छ तयारी



काठमाडौं- आज (बुधबार) बाट नेपालमा पनि सरकारले कोरोनाविरुद्ध खोप लगाउने भएको छ । आजैबाट खोप अभियान नै सञ्चालन गरिँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उद्घाटन क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, सहिद गंगालाल अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउनेछन्।

पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशका सातै प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउन सुरु गरिनेछ।

भारतले अनुदानस्वरूप पहिलो चरणमा दिएको कोरोनाविरुद्धको ४ लाख ५० हजार डोज खोप सातै प्रदेश पुर्याइसकिएको छ। भारतले जम्मा १० लाख खोप दिने बताएको छ। बाँकी डोज अर्काे चरणमा आउनेछ।