नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ निरौला सहित तीन जनालाई विशेष अदालतद्वारा दोषी ठहर
काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौला सहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।
विशेष अदालतले निरौलालाई ७ वर्ष कैद र ८० लाख बिगो, ५४ लाख जरिबाना पनि तोकेको छ । त्यसैगरी अनिल कुमार दास र महेन्द्र खनाललाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरु द्वारिकामान जोशी र नारायण प्रसाद पोखरेलको इजलासले दोषी ठहर गरेको हो ।
अन्य २० जनाले भने सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको यस्तो फैसला आएको हो ।
पर्यटन बोर्डमा रहँदा निरौलाले करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै छानविन गरिएको थियो । छानविनपछि उनले भ्रष्टाचार गरेको ठहरसहित पदबाट निलम्बन गरिएको थियो । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले पनि उनलाई निलम्वन गर्न निर्देशन दिएको थियो ।