‘तपाईं जस्तो पटकपटक रुप र रंग फर्नेसँग कुनै सहमति हुँदैन’
काठमाडौं- बिहिबार बिहान सबेरै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्न झण्डै एक दर्जनको संख्यामा उनको निवास कोटेश्वर पुगेका नेकपानिकट अनेरास्ववियुका अगुवा नेताहरू रञ्जित तामाङ,सुदेश पराजुली,ओसिम आलमलगायतले जिज्ञाशा राखे ‘कमरेड, के कारणले यस्तो भएको हो ?’
उक्त जिज्ञाशालाई शान्त पार्दै नेपालले आफूसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समस्याको चुरोलाई अर्कातिर फालेर समाधानभन्दा बाहिर गई भनेको केही प्रसंग सुनाएको स्रोतले बताएको छ ।
नेपालले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनेका थिए ‘म प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दिँदै दिन्न । तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसौं । बरु, पाँच वटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै तपाईंलाई दिइन्छ तर कुनै हालतमा प्रचण्डलाई दिइँदैन । तपाईं र म मिलौं ।’
जवाफमा नेपालले भने, ‘मलाई पदको लोभ र ललिपप देखाउनुहुन्छ ? मैले पदको लागि यो सबै गरेको भनेर ठान्नुभएको छ ? मैले विधि,पद्दति र प्रणाली स्थापना गर्ने विषयमा,कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने कुरामा र तपाईंको गलत प्रवृत्तिको बिरुद्धमा लडेको हुँ । पदको लागि कदापि होइन । तपाईं जस्तो पटकपटक रुप र रंग फेरेर कुरा गर्नेसँग मेरो सहमति हुँदैन । पदको लोभ र ललिपप आफैँसँग राख्नुहोस् ।’
उनले अगाडी थपेका थिए, ‘म नैतिकता भएको मान्छे हुँ । मैले अहिलेसम्म राजनीतिक नैतिकता बचाएर राखेको छु । पदको लागि मरिहत्ते गर्ने मान्छे होइन । पहिले नै प्रधानमन्त्री,पार्टीको प्रथम नेतृत्व गरिसकेको मान्छेलाई यस्ता सस्ता लोभ नदेखाउनुहोस् । अब तपाईंले पूरै नछाडेसम्म यो संघर्ष जारी रहन्छ ।’
विद्यार्थी नेताहरुसँगको भेटमा नेपालले आफूले पार्टीका अधिकांश विवादलाई विधि, विधान र पद्धतिमा लगेर टुंग्याउनुपर्ने कुरो उठाउँदै आएकोले त्योभन्दा बाहिर गएर समाधान खोज्ने कुरै नआउने बताएका थिए । ‘समस्या समाधानको लागि नेकपाभित्र वर्तमानमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री तथा पार्टी अध्यक्षले दिनुपर्छ । त्यसैगरी अरु कमरेडहरुले राखेका जिज्ञाशाको समाधान गर्नुपर्छ । उहाँले कि चित्त बुझाउनुपर्यो, होइन भने छाड्नुपर्यो । छाड्ने कसरी भन्ने कुरामा भरसक उहाँले प्रश्न उठिसकेपछि त्याग गर्नुपर्छ ।’ नेपालले समस्या समाधानको मार्गचित्र सुनाउँदै विद्यार्थी नेताहरुलाई भनेका थिए ।
उनले सचिवालयमा प्रस्तुत प्रतिवेदनहरु बैठकमा छलफलको लागि नल्याउन खोज्नुको भित्री रणनीति नै अल्पमत र बहुमतको आधारमा निर्णय हुने र आफूमाथि त्यो निर्णय मान्न बाध्य पारिने पूर्व संकेतको आधारमा नै प्रधानमन्त्री तथा अध्यक्षले अर्कै मार्ग खोजेको अर्थमा लिनुपर्ने बताएको जनआस्थाले लेखेको छ ।