माधव नेपाल भन्छन्: ओलीले पटक-पटक गल्ती गर्दा जनताले सजाय भोग्दैछन् - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

माधव नेपाल भन्छन्: ओलीले पटक-पटक गल्ती गर्दा जनताले सजाय भोग्दैछन्



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक गरेको गल्तिको सजाय जनताले बेहोर्नुपरेको बताएका छन् ।

उनले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने टिप्पणी समेत गरेका छन् । मन्त्रिपरिषद् विस्तारलाई बदर गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेपछि नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

केपी ओलीले संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोगेको बताउँदै नेता नेपालले गलत प्रवृत्तिविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ !!