निर्वाचनले कम्युनिष्टलाई सच्चिनका लागि घण्टी बजायो: माधव नेपाल
मकवानपुर- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधब कुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई सच्चिने मार्गमा जानका लागि घण्टी बजाएको बताएका छन् ।
नेता नेपालले निर्वाचनले दुई तिहाईको दम्भमा हिडेको कम्युनिष्टलाई तत्काल सच्चिनका लागि संकेत दिँर्दै जनताले अहिलेको नतिजा दिएको कुरा बुझ्नुपर्ने बताएका छन् ।
लालकिल्ला भत्कियो, जितेका ठाउँ हारेपछि अब दम्भ छोडेर सच्चिने पाटोमा लाग्न जनताले निर्देशन दिएको नेपालको भनाइ थियो । नेता नेपालले धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस् गर है, अहंकार नगर भन्ने सन्देश दिएको बताए ।
पोखरा र दाङ जितेका छौं भनेर कमजोरी सुधार्ने पाटोमा लाग्दा कमजाेर नबनिने थप बलियो बनिने उनको भनाई थियो । मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा नेता नेपालले पार्टी कमिटी भद्दा भएको समेत बताए ।
नेता नेपालले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तह कमिटीसम्म भद्दा बनाएर कम्युनिष्टकै बदनाम गरेको बताए । उनले यसरी पार्टी चलाएमान बनाउन असहज हुने तर्क समेत गरे ।
शुक्रबार मात्र मकवानपुर पुगेका नेपालले नेता रमौली प्रतापपुरमा रहेको बोटे बस्तिसमेत अवलोकन निरीक्षण गरेका छन् । बस्तिमा पुगेर उनले सरकारले निर्माण गरिदिएको नमुना बस्तिको अनुगमन गर्दै उनीहरुको समस्याको बारेमा जानकारी लिएका छन् ।