नयाँ दलको दर्ताको तयारी के छ ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नयाँ दलको दर्ताको तयारी के छ ?



काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका नेताहरुलाई धमाधम कारबाही थालेसँगै झलनाथ खनाल र माधव नेपाल समूह नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।

ओलीका एकपछि अर्को कदमबाट पार्टी एकता अन्त्य भएको निष्कर्षसहित कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने हैसियतको नयाँ पार्टी बनाउने गृहकार्य तीव्र बनेको बताइएको छ ।

सोमबार एमालेका माधवकुमार नेपालसहित २३ जना नेताहरुले प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने मागसहित विपक्षी गठबन्धनमा समर्थन जनाएपछि संस्थापन पक्षले नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो ।

ओलीको उक्त कदमबाट रुष्ट बनेको खनाल–नेपाल पक्षधर ओलीसँगै पार्टी अगाडी बढ्ने ढोका अन्त्य भएको बताउन थालेका छन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य ओलीको पार्टी हित विपरीत र गैरसंवैधानिक कदमबाट नयाँ दल निर्माणको आवश्यकता खडा भएको तर त्यसका लागि दलको नाम, चुनाव चिन्ह, पदाधिकारी सूचिलगायतमा गृहकार्य पनि भइरहेको बताउँछिन ।

ओली एमालेको पूर्वअवस्थामा नफर्किनु, पटक–पटक प्रतिनिधिसभा विघटन तथा लोकतन्त्रको पक्षमा लागेका नेताहरुलाई नै कारबाही गरिनु औचित्यहिन अनाधिकारिक र अर्थहीन भएको खनाल–नेपाल समुहको आरोप छ ।

एमालेको कारबाहीमा परेकी समानुपातिक नेतृ निरा देवी जैरु पनि ओलीको एकपछि अर्को कदमबाट नयाँ दल निर्माणको आवश्यकता बन्न बाध्य भएको बताउँछिन ।

त्यसो त पार्टीभित्रको आन्तरिक विवाद मिलाएर एकता जोगाउन गठित कार्यदलसमेत निस्क्रिय बन्नु तथा ओलीले माधव पक्षलाई पार्टीमा मिलाएर लैजान नसक्नुले पनि खनाल–नेपालको नयाँ दल छिट्टै नै दर्ता हुने लगभग निश्चित छ ।