ओलीले कारबाही गरेका माधव नेपालसहित २२ सांसद रणनीतिक छलफलमा - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

ओलीले कारबाही गरेका माधव नेपालसहित २२ सांसद रणनीतिक छलफलमा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका एमालेका २२ सांसद छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरू छलफलमा जुटेका हुन् ।

ओलीले कारबाहीको डण्डा चलाएपछि आगामी रणनीति बनाउन छलफलमा जुटेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल भएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरणको विषयमा पनि छलफल हुने ती सांसदले बताए । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको छ ।

पार्टी निर्देशन नमाने पनि देउवालाई विश्वासको मत नदिने सांसदलाई भने एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छैन । ओली पक्षमा रहेका आठ सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन ।