नयाँ रणनीतिमा माधव नेपाल
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव नेपालले रनानिरी फेरेको चर्चा चल्न थालेको छ । पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले पनि नेता नेपालले रणनीति फेरेको छनक दिने गरेको छ । त्यसमाथि माओवादी केन्काद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको केन्द्रीय कमिटि बैठकमा माधव नेपाल फेरिएको चर्चा समेत गरेका छन् ।
एकातिर आफैले समर्थन गरेको सरकारले मन्त्रिपरिषदलाई पुर्णता नदिंदा पर्ख र हेरको अवस्थामा देखिएको नेता नेपाल समूहले आफूहरूलाई कुरेर नबस्न सुचना पठाइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको क्षमतामाथि नै प्रश्न उठ्नेगरी रोकिएको मन्त्रिपरिषद् विस्तारमा नेपाललाई नै कुरेको प्रचण्ड र देउवाले बताउने गरेका छन् ।
नेकपा एमालेको ओली समूहले मन्त्रिपरिषदले पुर्णता नपाएको विषय जोडतोडले सदनदेखि सडकसम्म उठाइरहेको छ । विपक्षी दल एमालेले एक महिनासम्म पनि मन्त्रिपरिषदले पुर्णता नपाएको भन्दै देउवाको क्षमतामै प्रश्न उठाएको छ । यता सत्तारुढ गठबन्धनका दलहरु भने देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमालेको माधव नेपाल पक्षलाई पर्खिरहेको बताउँछन् ।
माधव नेपाल पक्षले स्पष्ट जवाफ नदिएकाले नेपाल पक्षलाई पर्खिएको सत्तासाझेदार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताउने गरेका छन् । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद विस्तार गर्ने सोचमा रहेका प्रधानमन्त्री देउवा पार्टी गतिविधिमा अल्झिदा समस्या उत्पन्न भएको नेताहरु बताउँछन् ।
कांग्रेस महाधिवेशन र मन्त्रिपरिषदलाई पुर्णता दिन देउवालाई सकस परेको थियो । महाधिवेशनको विषय निष्कर्षमा पुगेकाले अब मन्त्रिपरिषदलाई पुर्णता दिनेमा नेताहरु विश्वस्त छन् । गठबन्धका दलहरुसंग छलफल गरेर एक दुई दिनभित्रै सरकारलाई पुर्णता दिने एक कांग्रेस नेताले बताए । उनले भने, ‘अब एक दुई दिभित्रै टुङ्गोमा पुग्छौँ । गठबन्धनका दलहरुसंग एक चरण बसेर हामी यसलाई टुङ्याउछौँ ।’
नेता माधवकुमार नेपाल आफुहरुले सरकार विस्तारलाई नरोकेको बताउँछन् । आफुहरुले अहिले सरकारमा मन्त्री सहभागी गराउन नसक्ने भएकाले सरकारको काम कारवाही प्रभावकारी बनाउन आग्रह गरे । उनले भने, ‘हामीले रोकेका छैनौं है ! सरकारको बारेमा हामीले भनेका छौँ की तपाईहरु सरकार बनाउँदै गर्नुहोस् । मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामीले पठाउन सक्दैनौ किनभने हाम्रै टुङ्गो छैन ।’
नेता नेपालले एकताका लागि अझै प्रयास गर्ने बताएका छन् । एकताका लागि आफूहरु अन्तिम पर्खाइमा भन्दै उनले सबै ढोका बन्द गरिए पार्टी पुनर्गठन हुने बताए । एकताका लागि अध्यक्ष ओलीले गरेका गलत निर्णय फिर्ता लिएर सहमतिका आधारमा चल्ने वातावरण बन्नुपर्ने नेता नेपालको भनाई छ ।
उनले आफुहरु अझै पनि पार्टी एकताकै पक्षमा रहेकाले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले प्रधानमन्त्री देउवालाई विश्वास मत दिएको भन्दै नेता नेपालले तत्काल चुनाव नभएकाले नयाँ रणनीति बनाउन अहिले कुनै हतार नभएको बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालले मौखिक जानकारी गराएपनि लिखित रुपमा नआएकाले उनलाई छुटाउन नहुने गठबन्धनका केही नेताहरुको भनाई छ । सम्भवतः आज या भोली गठबन्धनको बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने कांग्रेस नेताहरुले बताएका छन् ।
एक महिनाअघि प्रधानमन्त्रीमा नियुक्त देउवाको १७ वटा मन्त्रालय सम्हाल्दै आएका छन् । हाल कांग्रेसबाट १ राज्य मन्त्री र २ जना मन्त्री छन् भने माओवादी केन्द्रबाट २ जना मन्त्री सरकारमा सहभागी छन् ।