माधव नेपालको प्रस्ताव: प्रमुख अतिथिलाई नकुर्ने, आसन ग्रहण नगराउने - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

माधव नेपालको प्रस्ताव: प्रमुख अतिथिलाई नकुर्ने, आसन ग्रहण नगराउने



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा आमूल परिवर्तनका लागि स-सानो कुराबाटै सुधार गर्नुपर्ने बताएका छन्। त्यसका लागि उनले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेश गरेका छन्।

काठमाडौंमा शनिबारबाट शुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले गर्ने कार्यक्रमबाटै सुधार गर्नुपर्ने बताए। “छोटो सम्बोधन र कार्यक्रम छोटो गर्ने,  तोकिएको र दिएको समयमा मन्तव्य सक्ने परिपाटी बसाल्नुपर्छ,” नेपालले भने।

उनले अन्य पार्टीले जस्तो मञ्चमा सबैलाई राख्नै पर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए। “भएभरका माथिल्लो कमिटीका पदाधिकारीलाई मञ्चमा आसन ग्रहण गराउनै पर्ने, गराएन भने गाला पुक्क हुने, अनुहार कालो हुने, मेरो नाम छुटेछ भन्ने परिपाटी छ,” अध्यक्ष नेपालले भने, “अब भए भरका मान्छेलाई मञ्चमा आसन ग्रहण गराउनैपर्ने, मञ्चमा भएका सबैले बोल्नै पर्ने, गलत परम्परा छोड्नै पर्छ।”

त्यस्तै, सम्बोधन गर्ने व्यक्तिले पनि केही कुरामा ध्यान दिनुपर्ने बताएका छन्। प्रत्येक व्यक्तिको पद भनेर आसन ग्रहण गराउँदा र सम्बोधन गर्दा धेरै समय लाग्ने उल्लेख गर्दै नेपालले भने, “प्रत्येक वक्ताले सबैको नाम लिएर सम्बोधन गर्ने परिपाटी बन्द गर्नुपर्छ।”

उनले नेताको स्वागत तथा सत्कारमा लाग्ने परिपाटी पनि अन्त्य गर्नुपर्ने बताए। केन्द्रीय सदस्यलाई निर्देशन दिँदै अध्यक्ष नेपालले भने, “फूलमाला, खादा र ब्याचको वितरणलाई निर्मुल गर्नुपर्छ। जुलुस सहित स्वागत गर्न जाने र कार्यक्रम रोकी प्रमुख अतिथिलाई कुर्ने प्रवृत्तिलाई पूरै सुधार गर्नुपर्छ।”

प्रमुख अतिथिलाई कुरेर बस्ने प्रवृत्तिले आफू हैरान भएको उनको भनाइ थियो। प्रमुख अतिथि समयमा नआएमा पनि आफ्नो कार्यक्रम गर्ने र समयमा सक्ने परिपाटी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले गरेको प्रस्तावमा सबैले आफ्नो जिम्मेवारी समयमा सक्ने र अनावश्यक गफ नगर्ने बानी बसाल्नुपर्ने बताए। “अरुको कुरा ध्यान दिएर सुन्ने, सामूहिकताको भावना विकास गर्ने, राम्रो कामको प्रशंसा र नराम्रो काममा चेतावनी तथा आलोचना गर्ने परिपार्टी बसाल्नुपर्छ,” अध्यक्ष नेपालले भने, “नेता तथा कार्यकर्ताले ठूलोठूलो अव्यवहारिक र हावादारी कुरा गर्नुहुँदैन।”

एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले साधा जीवन, स्वच्छ आचरण र उच्च विचारलाई आत्मसाथ गर्नुपर्ने नेपालको भनाइ थियो। उनले पार्टीमा युवा पुस्तालाई समेट्न तथा अध्ययन, अनुसन्धान र छलफलमा जोड दिनुपर्ने बताए।

नयाँ पुस्तामा खर्चिलो जीवनशैली अपनाउने बानीको विकास भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। “खर्चिलो र अपारदर्शी जीवनशैली अपनाउने, शारीरिक र सांस्कृतिक विषयलाई सामान्य रुपमा लिने प्रवृति अहिलेको पुस्तामा देखिएको छ, यसलाई सच्याउन जोड दिनुपर्छ,” नेपालले भने।