देउवाले दबाब दिएपछि नयाँ रणनीतिमा प्रचण्ड-माधव, कोटेश्वरमा छुट्टै बैठक
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ । एमसीसी र अन्य विषयमा प्रधानमन्त्री देउवाले दबाब दिएपछि उनीहरू नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।
सत्तारुढ गथाबन्धन्मा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण तनाव बढिरहँदा दुई शीर्ष नेता अलग्गै छलफलमा जुटेपछि उनीहरूको भेटलाई अर्थपूर्ण मानिएको छ ।
स्थानीय तहको चुनाव समयमै गर्ने र गठबन्धन कायम राख्ने सर्त राखेर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्न दबाब दिएपछि माओवादी र एकीकृत समाजवादी पार्टीमा रडाको मच्चिएको छ ।
देउवाले दबाब बढाउँदै लगेपछि सत्तारुढ दलका नेताहरु अलग अलग छलफल गरिरहेका छन्। देउवाले एमसीसीमा सहयोग नगरेको खण्डमा एमालेसँग मिलेर भएपनि पारित गराउने रणनीतिमा लागेपछि तनाव उत्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच सोमबार अपरान्ह कोटेश्वरमा वार्ता भएको बताइएको छ । स्रोतका अनुसार उनीहरुबीच करिब एक घण्टा लामो छलफल भएको हो।
उक्त छलफलमा भएको दुई नेताबीचको कुराकानीबारे बाहिर केहि नखुलाइएपनि एमासीसी पारित गर्न देउवाले बढाएको दबाब र आगामी रणनीतिबारे छलफल भएको स्रोतको दाबी छ ।
सोमबार बिहान पनि प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेपालबीच एक घण्टा लामो वार्ता भएको थियो। उक्त वार्तामा प्रचण्डले विवादित बुँदाहरु पहिले संशोधन गरेर मात्रै एमसीसी अघि बढाउनुपर्ने बताएका थिए। प्रचण्डको उक्त प्रस्तावमा नेपालले पनि समर्थन जनाएका छन्।