नेपाललाई विश्वकै बलियो क्रिकेट राष्ट्र बनाउन चाहन्छु : पटुवाल - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नेपाललाई विश्वकै बलियो क्रिकेट राष्ट्र बनाउन चाहन्छु : पटुवाल



काठमाडौं -नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक उमेश पटुवालले नेपाललाई एसिया हुँदै विश्वको बलियो क्रिकेट राष्ट्रका रुपमा हेर्न चाहेको वताएका छन्।

एकवर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्ति पाएका भारतीय प्रशिक्षक पटुवाल शुक्रबार नै काठमाडौं पुगेका छन्। राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा व्यवस्थापक रमन शिवाकोटीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नवनियुक्त प्रशिक्षकलाई स्वागत गरे।

‘हामीले नेपाललाई शुरुमा एसिया र अनि विश्वको बलियो क्रिकेटिङ नेशनका रुपमा हेर्न चाहेका छौं,’ आफ्नो लक्ष्य सुनाउँदै पटवालले भने, ‘नेपालले अब अष्ट्रेलियामा हुने ट्वान्ट्वी विश्वकप खेल्ने सपना पनि देखेको छ। हामी त्यहाँ पुग्ने आशा गर्छु र यो नै मेरो लक्ष्य हुनेछ।’

अफगानिस्तानका ब्याटिङ प्रशिक्षक रहिसकेका पटुवालले गतवर्ष मार्चमा नेपाली टोलीलाई पहिलो पटक ब्याटिङ परामर्शदाताका रुपमा हेरेका थिए। त्यसबेला नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। त्यसपछि भएको यूएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टि-२० शृंखला नेपालले जित्दा समेत पटुवाल ब्याटिङ परामर्शदाता थिए।

‘मैले यसअघि ३० जना खेलाडीलाई हेर्न पाएको थियो। हामीले त्यहाँबाट नेपाली खेलाडीको गहिराई थाहा पाउँन सक्दैनौं। हामीले यू-१९ र यू-१५ प्रतियोगिता गर्दै त्यहाँबाट पनि खेलाडी ल्याउनुपर्छ। एकवर्षे अवधिमा नेपालमा क्रिकेटको संस्कृति विकास गर्न सक्नेछु भन्ने आशा छ,’ उनले थपे।

अहिले राष्ट्रिय टोलीमा हेर्ने सम्झौता भएको यदि उमेर समूहको टोली हेर्नुपरेपनि आफू खुशी हुने तर स्पोर्टस काउन्सिलले त्यसबारे भन्नुपर्ने उनले बताए।

कार्यक्रममा कप्तान पारस खड्काले पटुवाललाई स्वागत गर्दै नेपाललाई थप सफलता हात पार्न स्पेशल मान्छेहरुको आवश्यकता रहेको भन्दै टि–२० क्वालिफायर अघि पटुवालको नियुक्तीले उत्साही बनाएको बताए।

पारसले भने, ‘यो सुरुवात हो। नयाँ कोच या खेलाडी आउँदैमा रातारात परिवर्तन हुने त हैन्। नेपाली क्रिकेटका लागि हामी विगतदेखि स्पेसलिस्टमान्छेहरु चाहिन्छ भन्दै आएका छौं। अहिलेको लागि अब आउने इन्टरनेशनल म्याच र टि-२० क्वालिफायरअघि नयाँ प्रशिक्षक पाउँदा खुशी छौं।’