माधव नेपाललाई स्थायी कमिटीका तीन जनाले मात्रै दिए साथ
काठमाडौं- सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ । तर अपेक्षित रूपमा आफ्नै नेताहरूको साथ् भने माधव नेपालले नपाउने देखिएको छ ।
पहिले एमालेको माधव नेपाल पक्षमै देखिएका कतिपय नेताहरूले नेता नेपालको साथ् छाडिसकेका छन् भने बानेश्वरस्थित अर्याल होटलमा भएको अन्तिम भेलामा पनि अपेक्षित नेताहरू देखिएका छैनन् । एमालेका उपाध्यक्ष वामदेव गौतमले साथ् दिने भनिए पनि उनले स्पष्ट रूपमा बोलिसकेका छैनन् ।
अहिले नेपाल समूहका नेताहरू भेला भएर नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहेका छन् । नेता माधव नेपाल पनि हलमा उपस्थित छन् । नेपालकै नेतृत्वमा नयाँ दल दर्ताको तयारी भएको हो । आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्गठनको अन्तिम तयारीमा पुगेको बताएका थिए ।
नयाँ दल दर्ताका लागि १२ जना स्थायी कमिटी सदस्यमध्य नेपाल पक्षमा ३ जना स्थायी कमिटी सदस्य मात्र देखिएका छन् । नेता नेपालसँग चार जना सदस्य पुगेका छन् । त्यसमा नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र नयाँ दलको पक्षमा हस्ताक्षर गरेका स्रोतले बतायो ।
नेपालनिकट मानिएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र नेता रघु पन्त लगायतले पार्टी विभाजनमा सहयोग नगर्ने बताएपछि नेपाल थप तनावमा छन् ।