नेपालको सुरक्षाकर्मी र गृह प्रशासनलाई विश्वकै नमूना बनाउने साेच छ:गृहमन्त्री थापा
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको शपथ लिए लगत्तै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले पदभार ग्रहण गर्दै अध्यागमनको नीति बनाउने र गृहप्रशासन सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
उनले गृह मन्त्रालयमा कर्मचारी तथा सुरक्षाकर्मीलाई निर्देशन दिँदै नेपालको सुरक्षाकर्मी र गृह प्रशासनलाई विश्वकै नमूना बनाउने सोच रहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन्।
गृहमन्त्री थापाले मन्त्रालयको नीति महाशाखाका प्रमुख केदार न्यौपानको संयोजकत्वमा सुधारका लागि कार्यदल गठन गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए ।
साथै थापाले नयाँ समय र परिस्थिति अनुसार चल्न र जनसेवालाई प्राथमिकतामा राखेर अगाडि बढ्न मातहतका निकायलाई निर्देशन दिएका छन्।