नेपालको प्रहरी संगठनलाई विश्वको नमूना बनाउने सोच छ :गृहमन्त्री थापा
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार सशस्त्र प्रहरी बलको मुख्यालय हल चोकको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा उनले सीमा सुरक्षाका विषयमा चासो राख्दै त्यसको सुरक्षामा खटिएको सशस्त्र प्रहरीसँग जानकारी लिएका छन्।
गृहमन्त्री थापालाई सशस्त्र प्रहरी बलका सीमा सुरक्षा विभागका अधिकारीले वर्तमान अवस्था र समस्याका विषयमा जानकारी गराएका छन् ।
सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले गृहमन्त्री थापालाई बलको काम कारबाहीका विषयमा जानकारी गराएका थिए।
निरीक्षणपछि गृहमन्त्री थापाले बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले सम्भव भएसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुहोस, बाँकी सहयोग मन्त्रालयले सकेसम्म गर्नेछ,’ गृहमन्त्री थापाले भनेका थिए।
सीमा सुरक्षा, आद्योगिक सुरक्षा, बिशेष ब्यक्ति तथा नागरिक सुरक्षा र राजस्व नियन्त्रणमा सक्रिय रहेको बललाई संघीय संरचनामा लैजाने विषयमा महानिरीक्षक श्रेष्ठले जानकारी गराएका थिए।
गएको बुधबार गृहमन्त्री थापाले नेपाल प्रहरीको मुख्यालय नक्सालमा उच्च अधिकारीसँग सुरक्षा अवस्था लगायतका सम्पूर्ण विषयमा बिफ्रिङ लिएका थिए ।
सो अवसरमा उनले नेपालको प्रहरी संगठनलाई विश्वको नमूना बनाउने आफूसँग सोच रहेको बताएका थिए ।