कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छैन: वरिष्ठ नेता नेपाल
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बजारमा आएका पछिल्ला सुचनामा सत्यता नभएको बताएका छन् । नेता नेपालको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा कार्यदलबारे गरिएको दुष्प्रचारको खण्डन गरिएको छ ।
कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ। नेता नेपालका सहयोगी मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे टिप्पणी नगरेको जनाउँदै असन्तुष्टि भनेर सार्वजनिक भएका समाचार सत्य नभएको जनाएका हुन्।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन।’
उनले शनिबार बस्ने सचिवालय बैठकमै नेपालले प्रतिवेदन उपर आफ्ना धारणा राख्ने समेत बताएका छन् ।
‘उहाँहरूकै माग बमोजिम अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवं आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवं अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु’, गौतमले भनेका छन्।
नेता नेपालले पार्टी विधि प्रक्रियामा आधारित भएर चलाउन दबाब दिँदै आएको सन्दर्भमा औपचारिक स्थानभन्दा बाहिर पहिला प्रतिवेदनमाथि आफ्नो धारणा नराखेको सचिवालयको भनाइ छ।
पार्टीमा दुई महिनादेखि उत्कर्षमा पुगेको विवाद समाधानका लागि साउन ३० गते अध्यक्षद्वयले गठन गरी भदौ १ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई अनुमोदन गरेको थियो।