युथ मिसनले गर्यो दिल्लीमा नेपाल-भारत सम्मेलन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

युथ मिसनले गर्यो दिल्लीमा नेपाल-भारत सम्मेलन



नयाँ दिल्ली 

नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउन भारतको राजधानी दिल्लीमा नेपाल-भारत सम्मेलन गरिएको छ ।

नेपाल-इण्डिया युथ मिसनले आयोजना गरेको नेपाल-भारत सम्मेलनमा नेपाल-भारतका वक्ताहरूले नेपाल-भारतको सुमधुर सम्बन्धमा जोड दिएका हुन्  । मिसनका अध्यक्ष मधुरेन्द्र जैसवालले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी नेपालका सुरेन्द्रकुमार जोशी रहेका थिए  ।

समारोहमा राजपा नेपालका महासचिव राजेशमान सिंह विशेष अतिथि ,नेपालबाट महिला अधिकारकर्मी रिता साह, बिरगंजका युवा नेता ओमप्रकाश सर्राफ, प्रवासी सङ्गठन प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारी, अखिल भारत एकता मञ्चका आर बी खड्का, भाजपा नेता आनन्द साहु, इण्डिया युथ फाउन्डेशनका हिमादृष सुवान, बीजेपी युवा मोर्चाका डाक्टर पंकज जैन, आध्यात्मिक गुरु स्वामी दिपाङ्कर लगायत भारतका ९ राज्यबाट विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।भारतमा रहेका विभिन्न राजनैतिक तथा गैर राजनैतिक संघ संगठनको पनि कार्यक्रममा उपस्थिति रहेको  थियो ।

समारोहमा बोल्दै वक्ताहरूले नेपाल-भारतको वर्तमान परिस्थिति र परापूर्वकालदेखि चल्दै आएको धार्मिक, सांस्कृतिक र राजनीतिक सम्बन्धका बारेमा प्रकाश पारेका थिए । अधिकांश वक्ताहरूले नेपाल-भारत सम्बन्ध सदा-सदाका लागि अमर रहनुपनेमा जोड दिए ।

नेपाल-भारत सम्बन्धमा बेला-बेला चिसोपन आउने गरेको भए पनि झिना-मसिना कुराले सम्बन्ध नबिग्रने बताइएको थियो । त्यसै गरी समारोहमा प्रवासी सङ्गठनका प्रतिनिधिले भने नेपाल-भारत सीमामा पछिल्लो समय हुने गरेका समस्या समाधान हुनुपर्ने भन्दै  नेपाल-भारतबिच भएको १९५०  को सन्धि अनुसार प्रवासी नेपालीहरूलाई अधिकार दिनुपर्ने र नेपालमा फोन गर्दा लाग्ने चर्को मूल्य घटाइनुपर्ने बताएका थिए ।