किन हुन्छ पटक-पटक नेपाल–भारत सीमास्तम्भ गायब ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

किन हुन्छ पटक-पटक नेपाल–भारत सीमास्तम्भ गायब ?



जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो ।

सर्वेक्षणको प्रारम्भीक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ ।

सप्तरीको कोशी नदीदेखि रौतहट जिल्लासम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए । तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए ।

सप्तरीदेखि धनुषासम्म गाडिएका १५ सय २९ पिलरमध्ये जंगी, प्रमुख, मझौला, साना, सवसिडरी र आईरन पिलर छन् । सर्वेक्षणमा जंगी पिलर १० देखि १५ वटासम्म मात्र भेटिएका छन् ।

सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोग विहिन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए ।

कतिपय पिलरहरू नदीमा आएको बाढीले बगाउँदा बालुवा–माटोले पुरिएको र कतिपय पिलर मानिसले उखेलेर फालिदिएको कारण पिलरहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । अब सव–सिडरी पिलर बनाईने छ। यो पिलर २.४ मिटरको हुनेछ। यसको आधा भाग जमिनमुनि गाडिने छ ।

सीमा सर्वेक्षणका लागि मेचीदेखि महाकालीसम्म छुट्टाछुट्टै चारवटा टोली खटिएका छन् । पुस १० गतेबाट सप्तरीदेखि चितवनसम्मको सर्वेक्षण थालिएको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको छ ।

माघ ६ भित्र आआफ्ना टोली प्रमुख समक्ष प्रतिवेदन बुझाउने छन् । त्यसपछि दुवै देशका अधिकारीको उपस्थितिमा नयाँ पिलर गाडिनुका साथै जिर्ण पिलरको ममर्त सम्भार गरिने सर्वेक्षकहरुको भनाइ छ ।

टोली नम्बर २ को कार्यालय नेपाली पक्षको वीरगञ्जमा र भारतीय पक्षको कार्यालय सिमावर्ती क्षेत्र रक्सौलमा राखिएको छ । सर्वेक्षक ओश्वाल र ढुंगानाका अनुसार बारा र पर्सा जिल्लामा सर्वेक्षण पुरा भइ पिलर फेरिने र मर्मत सम्भार गर्ने कार्य जारी छ । दुवै देशको सर्वेक्षण टोली नम्बर १ को भारतीय पक्षको कार्यालय किशनगञ्ज र नेपाली पक्षको कार्यालय झापामा राखिएको छ ।

त्यसैगरी टोली नम्बर ३ को नेपाली पक्षको कार्यालय कपिलवस्तु र भारतीय पक्षको सिमापारी रहेको छ भने, टोली नम्बर ४ को कञ्चनपुर जिल्लाको वारि र पारि छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको छ ।

१० वर्षे योजना अन्तर्गत सर्वेक्षण कार्य सुरु भएको हो । तीमध्ये ४ वर्ष वितिसकेको छ। सन् २०१७ डिसेम्बर २५ तारिखदेखि टोली नम्बर २ सुरु गरेको कामको प्रतिवेदन २०१८ जनवरी २० सम्ममा बुझाउँनेछ भने मई २०१८ सम्ममा सम्पूर्ण सर्वेक्षण कार्य सकिनेछ ।

टोली नम्बर २ को नेपालतर्फ १३ जना तथा भारतीयतर्फका १६ जना सर्वेक्षणमा खटिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।