नेपालमा ३० हजार कोरोना संक्रमित पुग्ने आंकलन - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

नेपालमा ३० हजार कोरोना संक्रमित पुग्ने आंकलन



काठमाडौं- सरकारले ३० हजार कोराना भाइरस संक्रमितलाई लक्षित गरेर स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा सोचेभन्दा बढी बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म संक्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको हो ।

‘दैनिक रुपमा संक्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै संक्रमित हुने अनुमान गरेका छौं’, उनले भने, ‘त्यही भएर संक्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छौं ।’

पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लो पटक भारतबाट संक्रमित आउन थालेपछि यो संख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार संक्रमित हुने अनुमान गरेको भए पनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो ।

अहिले नै सङ्क्रमितको संख्या तीन हजार ७६२ पुगिसकेका छन् । दैनिक दुई–तीन सयको संख्यामा सङ्क्रमित बढिरहेका छन । सङ्क्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन । नेपालमा पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा संक्रमण देखिएको छ। उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब रु ९४ करोडको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ ।

तीमध्ये रु ४० करोड भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए ।

महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर, अहिले सातवटै प्रदेश र कोभिड–१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट पाँच हजार ८३५, पीपीई गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन–९५ मास्क ६९ लाख वितरण गरिएको छ ।

यस्तै पीपीइ सेट पाँच हजार, पीपीइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड–१९ अस्पताललाई पठाइने छ । उनले मापदण्ड विपरीत सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए ।

अहिलेसम्म पीसीआरबाट एक लाख ९७१ र आरडीटीबाट एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म एक लाख ६६ हजार ६६८ जना क्यारेन्टिनमा रहेका छन् ।