न्यायाधीश बिदामा, नेपाल र भट्टराईलाई हाइसन्चो
काठमाडौँ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई हाइसन्चो भएको छ । उनीहरूविरुद्धको मुद्दामा फैसला सुनाउने न्यायाधीश नै नआएपछि उनीहरूको फैसला तत्काल नआउने भएको छ ।
ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको फैसला सुनाउने मिति कात्तिक १५ गते तोकिएको थियो । तर नेपाल र भट्टराईविरुद्धको मुद्दामा १५ गते फैसला नहुने भएको बताइएको छ ।
केहिदिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नहकुल सुवेदीको संयुक्त इजलासले बहस सकेर निर्णय सुनाउने मिति कार्तिक १५ मा तोकेपनि सो मितिमा भने सुनुवाई नहुने पक्का भएको छ । स्रोतका अनुसार न्यायाधीश सुवेदी लामो बिदामा छन्
कतिपयले भने न्यायाधीश सुवेदी नयाँ दिल्ली गएको बताएका छन् । सुवेदी तत्काल नआउने भएपछि फैसला पनि लम्बिने भएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त दिन आदेश नआउने निश्चित भएको छ ।
खासमा सर्वोच्च अदालतको लफडाकै कारण पनि यो मुद्दामा हालसम्म कुनै तयारी भएको छैन। आदेश के दिने भन्नेबारे राणा र सुवेदीले तय गरिनसकको बताइएको छ । उनीहरूको मुद्दामा गत असोज १८ गते नै सुनुवाइ सकिए पनि निर्णय सुनाउनका लागि सोमबारको मिति तोकिएको थियो।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेलामै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेकाले उनीहरुमाथि पनि मुद्दा चलाउनु पर्ने माग गर्दै रिट निवेदन दिएका छन्।
ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका हुन्। आयोग २०७६ माग २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीश र बार आन्दोलित रहेका बेला उक्त मुद्दाको निर्णयलाई चासोका साथ हेरिएको छ। सत्ता गठबन्धनले राणाको राजीनामाबारे मुख नखोल्नुलाई त्यहीँ रिटसँग जोडेर हेरिएको छ।