माधव नेपाललाई वामदेव र नारायणकाजीले साथ दिए - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

माधव नेपाललाई वामदेव र नारायणकाजीले साथ दिए



पूर्व प्रधानमन्त्री माधब नेपालले आयोजना गरेको शुक्रबार (१२ असोज) को चियापानमा केन्द्रीय सचिवालयका थप दुई सदस्यहरुले नेपाललाई साथ दिएका छन्।

प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपालले आयोजना गरेको चियापानमा बामदेब गौतम र नारायणकाजी श्रेष्ठले साथ दिएका हुन्।

स्रोतका अनुसार ४९ सदस्यीय नेकपा स्थायी समितिका झण्डै आधा जति सदस्य नेता नेपालले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा नेता नेपालले मुलुक र पार्टी दुबै गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउँदै यस्तो बेला पार्टीको बैठक व्यवस्थित रुपमा हुन नसकेकोमा आक्रोस पोखेका थिए।

‘एकातिर सिके राउत जस्ता बिखण्डनकारीहरु सक्रिय छन्, अर्काेतिर बिप्लब जस्ता उग्रवादीहरु’ नेपालले भेलामा भने, बलात्कार, हत्या जस्ता घटना बढेका छन्। तर सरकार र पार्टीको नेतृत्वले यसतर्फ उचित ध्यान दिएको छैन।’

देखिएका समस्या समाधान गर्न पार्टीको व्यवस्थित बैठक आयोजना गर्नुपर्नेमा त्यो नभएको बताउँदै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका थिए।

नेपालको कुरामा गौतम र श्रेष्ठले पनि सहमति जनाउँदै छिटो भन्दा छिटो स्थायी समितिको बैठक डाक्नु पर्ने कुरामा आफूहरुको पनि सहमति रहेको बताएका थिए।

भेलामा सहभागी स्थायी समितिका सदस्यहरुले सचिवालयमा रहेका तीनै नेता (नेपाल, गौतम र श्रेष्ठ) ले स्थायी समिति बैठक राख्न पहल गर्न आग्रह गरेका थिए।