नेपाल बलात्कारीको रङ्गमञ्च - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

नेपाल बलात्कारीको रङ्गमञ्च



दिब्यान्त जोशी

अतीतका सम्झना कलमले पत्रहरूमा रङ्गाउदै थिएँ ।त्यतीकैमा अचानक पानीको थोपाले मेरो अभ्यस्तलाई भङ्ग गरिदियो । कस्तो अचम्म बाहिर हेर्दा त बादलहरू रूप बदली बदली लुकामारी खेल्दै थिए । पानीको त संकेतनै शून्य थियो । बाहिरको दृश्य मनोरम अनि चराचुरुङ्गीको मीठो आवाजले बाताबरणनै संगीतमय बनाइदिएको थियो । एक पल मीठो ,दुर्लभ अनि शान्त वातावरणको लाभ लिँदै आफ्नै कार्यकक्षमा फर्किए ।

त्यति बेला कसैको मुखारबिन्दुबाट ‘दादा’ भन्ने शब्द मेरो दुई वटै कानमा गुन्जियो । तर उक्त पुकारमा वेदना र छट्पटाहट भरिएको थियो जस्तो लाग्छ । चारै तर्फ आफ्ना दृष्टि घुमाएँ ,अहँ ! कसैलाई पनि मेरा नेत्रहरूले कैद गर्न भने सकेनन् । मेरो मनमा धेरै अनगिन्ती प्रश्नहरूको प्रत्यागमन हुन थाले ।के यो मेरो भ्रम त होइन ? के थाहा हुन पनि सक्थ्यो । दुई रातको अनिन्द्राले बाँधिएको न थिए । त्यतिकैमा मैले बिश्वासनै गर्न नसकिने दृश्य मेरो अगाडि छर्लङ्ग हुन पुग्यो । सायद १०/११ वर्षको बहिनीलाई मैले मेरो अगाडि देखे । कपडा च्यातिएको थियो । निल डाम र रगत नै उसका पहिरन बनेका थिए । चेहरा निराशाले भरिपूर्ण थियो । म मा त्यस्तो दर्दनाक दृश्य देख्ने हिम्मत भएन ।छ्ट्पटाउदै अनि आँखा चिम्लँदै भुइँमा झरेको रहेछु ।

हृदय रोइरहेको थियो , तर पनि आफूलाई सम्हाल्न प्रयत्न गरे । बहिनीले मेरो भेस्ट ताने जस्तो गर्दै भन्न थाली , “दादा दादा उ त्यो अङ्कल कस्तो नराम्रो ! मलाई गेमबाट नै आउट पर्दिनु भयो ! मलाई बुझ्न गाह्रो भयो । उक्त खेलबाट म अज्ञानतै थिएँ । सोधेँ कस्तो खेल बहिनी ? उसको उत्तर सुन्दा त आकाशबाट धर्तीमा झरे झैँ लाग्यो । म स्तब्ध भएँ । त्यतिकैमा फेरि बहिनीले भन्छे ” दादा हजुर केही गर्नुन , म अहिले गएँ है , फेरि अङ्कलले मेरा अरू दिदी बहिनी , साथीलाई पनि गेमबाट आउट गरिदिन सक्नुहुन्छ।” उसलाई के थाहा , उँ सङ्ग के भएको छ । उसको भौतिक अस्तित्व पनि खरानी बनिसकेको छ । तर पनि आफू जस्तो दिदी बहिनी , साथीका प्रतिको उसको प्रेम देखेर मलाई नेपालआमाका हरेक छोरी अर्थात् हाम्री दिदी बहिनीको झलझलि याद आउन पुग्यो । एउटा निर्दोष भूत जसलाई अस्तित्वविहीन बनाइयो , उँ सङ्ग अपराध सङ्ग भिड्ने साहस छ भने हामी त आफ्नो अस्तित्वमा सत्तासीन भएका मानिस हौँ । अझै त्यसैमाथि वीर कहलिने गोर्खाली, हामी । उँहि अस्तित्वविहीन बनाइएकी बहिनीको कुरा सुन्दा त जति बेला पनि त्यही खेलको नै याद आउँछ।

आज भोलिको जगत्मा त खेलहरू विश्वब्यापिनै भएका छन् । हामी नेपाली त खेलप्रेमिनै बनिसकेका छौँ । तर दुर्भाग्यवश हाम्रो नेपालमा वर्णन लायक एकपन रङ्गमञ्च छैन । तर अब चिन्ता लिनु पर्दैन ,

बधाई छ हामीलाई!सिङ्गो नेपाल एउटा विशाल रङ्गमञ्च बनिसकेको छ । यो त अचम्मको कुरा हो कि , यहाँ हुने खेलको प्रतिस्पर्धामा कुनै निश्चित उमेर तोकिएको भने छैन । ६०,७० वर्षका वृद्ध समेत यस प्रतिस्पर्धाका स्टार बनिसकेका छन् । यस दुर्लभ प्रतियोगिताको नाम हो , बलात्कार ! हो , बलात्कार नै यसको वास्तविक परिचय हो भन्दा फरक नपर्ला ।

नेपालमा प्रकान्डरुपमा फैलिएको यस्तो खेल अन्य भन्दा अलि भिन्नै किसिमको खेल छ । सामन्यत: अन्य खेलमा प्रहरी दर्शक बनेर सुरक्षामा आफ्नो योगदान दिने गर्दछन् तर आज भोलि यो खेलमा प्रहरी दर्शक मात्र नभैई खेलाडी समेत बन्न पुगिसकेका छन् । बलात्कार त नेपालको राष्ट्रिय खेलनै  बनिसकेको छ । सायद बलात्कार मात्र यस्तो खेल हुनुपर्छ जसमा खेलाडीको जित त अवश्य हुन्छ तर हार भने नेपाल आमाको। अनि शोकमा स्तब्ध भएर आँसु बगाउन बाध्य बन्न पुग्छौ हामी सोझा जनता ।

अहिलेको नेपालको परिवेश हेर्दा , हृदय छिया छिया बनाउने बलात्कारको कुरा सुन्दा त कतीबेला यस्तो लाग्छ की उत्तर कोरियाका क्रूर शासक किम जोम उन जस्तो मानिसले नेपालमा पनि कानुन क्रूर बनाइदिएको भए हुन्थ्यो । के थाहा ! बलात्कार जस्तो घिन लाग्दो अपराध गर्ने अपराधी साधु सन्तानै बन्थे कि । त्यस्ता नरपिसाचको मन भित्रको नियत स्थिर भए तापनि व्यवहारमा भिन्नता पाउन सकिन्थ्यो कि । बलात्कार जस्तो घिन लाग्दो र फोहोर खेलका कारण नेपाल आमाले गहबाट झारेका पानीका थोपाले एउटा विशाल महासागर नै तयार पारिदिन्छ । मातृभूमिका आँसु थाम्न नेपाल आमाका ३ करोड सन्तानको नै खाँचो पर्दछ ।यदि एक सन्तान मात्र पनि कुकर्मी र दुखित भएमा ,आमाका गहबाट आँसु अस्थिरतै रहन्छन् ।

३करोडमा कम्तीमा पनि एउटा त बलात्कारिनै भयो जो नेपाल आमाको आँसु पुछ्न अयोग्य छ ,र अर्की लक्ष्मीकी स्वरुपिणी कहलिने नारी ,जसलाई इज्जतहिन बनाउने कोसिस गरिएको छ र उनी पिडाले बाँधिएकी छिन् ।अनि कसरी रोकिन्छन् त नेपालआमाका आँसु ! कसरी बन्दैनन् त आँसुका विशाल महासागरहरू ।

मलाई लाग्छ हामी आजभोली यो भ्रममा परिरहेको छौँ कि , नेपालमा नारीहरू मात्र असुरक्षित छन् । यदि यो सत्य हो भने , यस्तो भ्रम अहिले नै त्याग्दिनुहोस् । किनभने हामीलाई हाम्रो अस्तित्व प्रदान गर्ने नारिनै सुरक्षित छैनन् भने हामी पुरुष कसरी सुरक्षित भयौँ । आफुपनी सम्मानित र सुरक्षित हुनका हेतु , आजै देखि नारीको सम्मान अनि संरक्षण गर्न सिकौँ । नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भन्ने यथार्थलाई आत्मसात् गरेपश्चात् देश अगाडि बढ्ने कुरामा दुई मत भने हुँदैन ।

सन् २०१७  र २०१८  को तथ्याङ्क नियालेर हेर्दा अहिले सम्ममात्र १४८० र ६२८ जबरजस्ती करणी अर्थात् बलात्कार र हत्याको उजुरी नेपाल प्रहरीले दर्ता गरेको छ । यो सूचनाले पर्दाफास गर्दछ कि , नेपाल समृद्धि तर्फ कुन गतिले अघि बढ्दै छ र हामी पुरुष कत्तिको मर्यादित छौँ । एउटा असुल्झित प्रसङ्ग त यो छ कि , हाम्रो आदी नारीले गर्दछ,तर नारीकै अन्त्य भने हामी अर्थात् पुरुषद्वारा हुन्छ । कहाँको नियम हो यस्तो, अझसम्म अज्ञात स्वरूपमै छ ।

भर्खरै कंचनपुरको पिडादायक गतिविधि अवलोकन गर्दा , प्रहरी हाम्रा साथी अहिले यमराज बनेका छन् । प्रहरी र नेपाल सरकारको विश्वासमाथि डढेलो लागेको छ । शान्तिका महादूत भनेर ब्रह्माण्डमा परिचित सिद्धार्थ गौतमको देशमा निर्मला जस्ता हजारौँ बालिका र नारीहरू दिनप्रतिदिन दाइ,काका,हजुरबुवाका उमेरका कुख्यात व्यक्तिद्वारा बलात्कृत भइरहेकी छिन् । जनक जस्ता न्यायप्रेमी राष्ट्रिय विभूतिकै देशमा, काम कुरो एकातिर कुम्लो बोकी अर्कोतिर जस्तै भइरहेको छ ।अर्थात् , आफ्नो मुख्य काम ठोस दोषीलाई छिटो पक्राउ गर्ने भएतापनी , निर्दोषलाई दोषी करार दिने कोसिस भइरहेको छ । सरकारको एक महत्त्वपूर्ण अङ्ग प्रहरीले निर्दोष व्यक्ति माथि दोषी आरोप लगाएपछि ,हाम्रो सरकारको त टिप्पणी नगर्दा नै उपयुक्त होला जस्तो लाग्छ । हुन त हिरो अन्तिममा आउँछ भन्छन् । सबै घटनाको पुर्वसाबधानिको सट्टा अन्तिममा ध्यानाकर्षण गर्नुको आशय , के नेपालले हिरोको भूमिका निर्वाह गर्न खोजेकै हो र? अचम्म लाग्दछ ।

नेपालआमाका सच्चा सन्तान त उँ हुन् , जो नारीलाई सम्मान गर्दछन् , नारीको संरक्षक बन्दछन् । के वास्तवमै तपाईँहरू छाती खोलेर भन्न सक्नुहुन्छ ? हो ! म आफू जन्मेको माटोमाथि उभिएर राष्ट्रका हरेक आमाको अगाडि खडा भएर आखा जुधाएर गर्वका साथ भन्न सक्छु ।” म नेपाल आमाको सन्तान हुँ “।

तर के एउटा नरपिसाच बलात्कारीले आफ्नो जन्म दिने र हुर्काउने आमाको अगाडि मात्र आँखा जुधाएर भन्न सक्छ । “म बलात्कारी होइन ” । यसको जवाफ त म सङ्ग पनि छैन । हामीलाई हाम्रो सरकार र संरक्षकको त भरोसा लाग्न छोड्न लागेको छ । अपराधी त अपराधी नै भइहाल्यो । यदि यसरी नै नेपालको हालत बलात्कारको रङ्गमञ्चमा नै कायम हुने हो भने , म यो असल समाजमा हुर्किएको समाजको एक असल सन्तान हुँ भन्ने बेलामा , मुख छोपेर , टाउको निहुराएर अनि निशब्द बनेर हिँड्नु पर्ने दिन आउन अब धेरै पर्खिनु पर्ने भने छैन ।

तसर्थ हामीसबैले नेपाल: बलात्कारीको रङ्गमञ्चलाई शान्ति अनि अहिंसाको रंगमंचमा रूपान्तरण गर्नका निम्ति हामी आफै सकारात्मक उन्नतिका कार्यहरूमा लाग्न अत्यन्त जरुरी छ |आउनुहोस् आज एउटा प्रण गरौँ , आज देखि कुनै पनि नारी हामी पुरुष मानिसकै कारणले , खरानी बन्न भने नपुगुन् । सक्छौँ भने नारीलाई सम्मान दिँउ ,अपमान होइन ।अनि अर्को कुरा हामी सम्पूर्ण मनुष्य परिवर्तनका लागि अलिकति त पागल बन्नुनै पर्छ । किनकि, परिवर्तन आफैमा एक पागलपन हो ! जसले हामीलाई छाती खोलेर भन्न सिकाउँछ , हो हुँ म पागल । मैले देश बदल्नु छ ।