माधव नेपाल बाहेक पनि पार्टी एकता हुनसक्छ: पृथ्वीसुब्बा गुरुङ
पोखरा– नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी एकता हुन लागेको संकेत गरेका छन् । उनले माधव नेपालले नमानेको खण्डमा पनि एकता हुने संकेत गरेका छन् ।
पार्टी निकट युवासङ्घ नेपाल गण्डकी प्रदेशको शनिबार पोखरामा कार्यालय उद्घाटन गर्दै उनले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्। उनले नेता नेपालले नमानेपनि एकता नरोकिने बताए । उनले एकताका सबै प्रक्रिया टुंगिएको समेत बताएका थिए ।
केन्द्रमा पार्टीको एकतामा ‘ब्रेक थ्रु’ हुने चर्चा चलिरहेका बेला गुरुङले माधव नेपाल आउन नसके प्रभावशाली नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउने तयारी भएको समेत बताए ।
एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उनले आग्रह गरे।
युवासङ्घका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार–प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।